मकवानपुर । मकवानपुरको बकैया गाउंपालिकामा चुनावी माहोलको विषयमा गठबन्धन भित्रै विवाद हुदा झडप भएको छ । झडपमा परि २ जना घाइते भएका छन् ।
बकैया गाउँपालिका वडा ७ कत्लेखोलामा भएको विवादमा कुटाकुट हुंदा दुईजना घाईते भएका छन् । कुटपिटबाट नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरेको बुझिएको प्रहरीले जनाएको छ ।
राईले माओवादी केन्द्रका कत्लेखोला टोल कमिटि अध्यक्ष विष्णु राई र राप्रपा गाउँकमिटि उपाध्यक्ष हरि राईलाईलाई निर्घात कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ तथा स्थानीय निर्वाचनको लागि बकैया वडा नंबर ७ की चुनावी कमाण्डर लक्ष्मी माझी‘कृपा’ले जानकारी दिईन् ।

घाइते विष्णु र हरिको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको माझीको भनाई छ । घटनाबारे जानकारी दिँदै प्रहरी कार्यालय हात्तिसुडेका सई दमन तामाङले आफूहरुलाई दुबै पक्षको निवेदन आएको र घाईतेको उपचार पश्चात घटनाको विषयमा थप छानविन हुने बताए ।
बकैयामा गाउँपालिकामा स्थानीय तह निर्वाचनको लागि गठबन्धनबिच उम्मेदवारको भागबन्डामा चित्त नबुझेर दलहरूले आ आफूले उम्मेदवारी दर्ता गरेका थिए । पछि सामन्य सहमतीपछी उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई जिताउने अभियानमा दलहरू लागेका थिए । यद्यपि आज फेरी कांग्रेस र माओवादी केन्द्र बिचको बिवाद मैदान मै देखिएको छ ।

