मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेर भोलिपल्टै नेकपा एमाले प्रवेश गरेका नेता श्रीधर पोखरेलले एकीकृत समाजवादी कुनै पार्टी नै नभएको बताएका छन् ।
“एकीकृत समाजवादी कुनै पार्टी हैन त्यो नेपाली कांग्रेसको एस हो” पार्टी प्रवेश लगत्तै एमालेको चुनावी प्रचारप्रसारमा सहभागी भएका पोखरेलले चुनावी सभमा भने “उ संग केहि भिजन छैन, नेपालको कम्युनिस्ट आन्दोलन समाप्त पार्ने र एमालेलाई साइजमा ल्याउनु मात्रै एजेन्डा छ ।” नेकपा एमाले हेटौंडा ५ ले आयोजना गरेको घरदैलो कार्यक्रममा नेता पोखरेल सहित हेटौंडा उपमहानगरपालिकामा एमालेको मेयर,उपमेयर, वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरूको उपस्थिति रहेको थियो ।
नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्ष पदसहित पार्टी परित्याग गरि एमाले प्रवेश गरेका पोखरेललाई चुनावी प्रचारप्रसारमा देख्नासाथ कार्यकर्ताहरूले हुटिङ्ग गरेका थिए ।
उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेसहित वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुलाई शुभकामना दिदै एमालेका नेता तथा कार्यकर्ताहरुसँग सामुहिक तस्बिर समेत खिचाए । एमाले प्रवेश गर्दा आफ्नै घर फर्किएको र आफ्नै दाजुभाइ तथा दिदिबहिनीहरुसँग भेट भए झै खुसी मिलेको बताउंदै पोखरेलले आफ्नो ४१ बर्षको कम्युनिस्ट आन्दोलन र पार्टीगत लगानी एमालेमै भएकोले विगत ८ महिना राजनीति जीवनको भूल भएको बताए । “म बिस्मृतमा थिए” उनले भने “एमालेको जितले मात्रै जनतालाई न्याय हुन्छ ।”

