मकवानपुर । मकवानपुरका १० स्थानीय तहका १ सय २ वटा मध्ये हेटाैडा १७ मा मात्रै नेपाल विवेकशील पार्टी मकवानपुरले चुनावी प्रतिष्पर्धा गर्दैछ ।
नेपाल विवेकशील पार्टी मकवानपुरको तर्फबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१७ का अध्यक्ष पदका उम्मेदवार कृष्णदेव भण्डारीले अहिलेकाे स्थानीय निर्वाचनमा जनताले विकल्प खाेजेकाे बताउँछन् । भण्डारीको नेतृत्वमा वडा सदस्यहरु सविना बर्तौला पुजारी, कमला विश्वकर्मा, रविन सञ्जेल र सुरज थोकर सदस्य पदको उम्मेदवार छन् । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका भण्डारी समृद्ध वडा निर्माणको लागि आफु योजनासहित उम्मेदवार भएकोे बताउँछन् ।
नेपालमा संविधान सभाबाट नेपालको संविधान जारी भए पछी दोस्रो पटक स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदैछ ।निर्वाचनकाे वातावरणले टाेल गाउँ सहर सवै तताएकाे छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ । दावी विराेध सहितका कार्यक्रम समेत भएकाे छ । विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता भएका छन् । केहीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराइएका छन् । उम्मेदवारहरु आआफ्नाे एजेण्डा बोकेर घरदैलोमा व्यस्त छन् । गत स्थानीय चुनाव भन्दा याे पटक चुनावी मैदानमा युवा उम्मेदवारहरु धेरै देखिएका छन् । यसै मध्येका एक युवा उम्मेदवाद हुन् भण्डारी ।
निर्वाचनका कार्यक्रम प्रकाशित हुनु भन्दा अघी देखिनै १७ नं. वडामा घरदैलाे अभियानमा रहेकाे भण्डारीले प्रचार प्रसारलाई अघि बढाइरहेकाे बताउँछन् । राजनीतिलाई समाज सेवामा लगाउन सकिए गाउँसमाजकाे सामाजिक आर्थिक सांस्कृतिक लगायतका क्षेत्रकाे विकास सम्भव रहेकाे भण्डारी बताउँछन् । राजनीतिमा युवा पुस्ताले सहभागिता जनाउनु भावी पुस्ताकाे लागि सकारात्मक रहेकाे उनले बताए ।
२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा हेटाैडा उपमहानगरपालिकाकाे मेयर पदमा स्वतन्त्र उम्मेदवार भएका भण्डारी शिक्षासास्त्र संकायमा स्नातकसम्म अध्ययन गरेका छन् । हेटौडा १७ हटिया ठुलाे गगटे निवासी भण्डारीको जन्म बाबुराम र यमकुमारी भण्डारीको जेठाे सन्तानकाे रुपमा २०३५ सालमा भएको हो । उनी २०४७ सालबाट नेपाल विद्यार्थी संघमा आवद्ध भएर करिब एक दशक कांग्रेसको राजनीतिमा क्रियाशील रहेकाे बताउँछन् । तत्कालिन हटिया गाउँ इकाइको विद्यार्थीको सभापति र २०६१ मा पार्टीको पालिका सचिवसमेत भएका उनी त्यसपछि झण्डै ६ बर्ष पार्टी राजनीतिभन्दा बाहिर बसे ।
२०७१ मा तत्कालिन विवेकशील नेपाली दल पार्टी दर्ता भएपछि उनी सोही पार्टीमा आवद्ध भएर राजनीतिमा पुनः सक्रिय भए । पुस्तक लेखन, प्रकाशन तथा वितरणको कार्यलाई निरन्तरता दिई उनले राजनीतिक यात्रालाई पनि सँगै अघि बढाए । हाल देशैभरका विद्यालयहरुमा भण्डारीद्वारा लिखित ४५ भन्दा बढी अंग्रेजी भाषाका पुस्तक पठनपाठन भइरहेको छ ।
आफ्नाे रुचीकाे क्षेत्र शैक्षिक रहेकाे बताउँने उनी २०५७ बाट लोटस एकेडेमी हटियाको संस्थापक प्रिन्सिपल भएर काम गरेका थिए । अहिले शिक्षण पेशा छाेडेर भण्डारी प्रशिद्धी बुक हाउस प्रा.लिको कार्यकारी छन् । हटिया बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष उनी ओसन प्रकाशन प्रा.लि.को लेखक तथा भाषा सम्पादक भइ काम समेत गरेका छन् ।
भण्डारी गत निर्वाचनमा हेटाैडा उपमहानगरपालिकाकाे मेयरमा उम्मेदवारी दिए पनि यस पटक वडा तहबाट बलियाे उपस्थिति देखाउँदै अघी बढ्ने साेचका साथ आफ्नाे उम्मेदवारी वडा अध्यक्षमा रहेकाे बताउँछन् । भन्छन् वडा अध्यक्ष भनेकाे नगर कार्यपालिकाकाे मन्त्री हाे । वडा बलियाे भए नगर वलियाे हुन्छ । नगरमा वडाका समस्या तथा गर्नु पर्ने कामकाे प्रस्ताव लगेर आफ्नाे वडाकाे विकास गर्न सकिन्छ ।
पुराना दलहरुले पटक पटक निर्वाचित भएपनि जनअपेक्षा अनुसारको काम गर्न नसकेको कारण अब जनताले विकल्प खोजेको भण्डारीको भनाई छ । उनी अन्य पार्टीमा सक्रिय उम्मेदवार नभएको र ठूलो दल भएकोले जित हाम्रो हुन्छ भन्ने घमण्डले गर्दा जनहितका काममा ठूला दलको उम्मेदवारको ध्यान नगएको कारण अब जनताले वैकल्पिक शक्ति चाहेकोे उनी दावी गर्छन् । २०७४ को निर्वाचनमा हेटौंडाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका उनले निर्वाचनपश्चात १७ नम्वर वडाको नेतृत्व लिन प्रयास गरिरहेका छन् । एक पटक वडा अध्यक्ष बन्ने मौका पाए जनहितको थुप्रै कार्य गर्ने योजना रहेको उनी बताउँछन् ।
उनले प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् । हाम्रो होइन, राम्रोलाई मतदान गरौँ । पार्टीलाई होइन, देश र जनतालाई जिताऔं भन्दै महिला सशक्तीकरण देखि स्वास्थ्य संस्थामा MBBS डाक्टर सम्मकाे व्यवस्था गरिने उनले प्रतिबद्धता गरेका छन् ।
वडा अध्यक्ष पदका उम्मेदवार भण्डारीले बताए अनुसारका प्रतिवद्धता
१. सेवा प्रवाह
- ईरिक्सा सुविधाः वृद्धभत्ता लिन बैँकसम्म जानको लागि ईरिक्साको व्यबस्था गरिने छ ।
- वृद्ध, असक्त, सुत्केरी महिला र सजिमिन गर्नुपर्ने अवस्थामा वडा सदस्यहरु र स्वयम्सेवकहरु परिचालन गरी सेवाग्राही नागरिकको घरदैलोमा पुगी सेवा प्रवाह गरिने छ ।
- एकद्वार सेवा प्रणाली लागू गरिनेछ । सेवाग्राहीले आवश्यक कागजातहरु एक ठाउँमा बुझाएपछि सेवाग्राही चिया पिउँदै प्रतिक्षालयमा आराम गरिरहेकै ठाउँमा कार्यसम्पन्न गरी सेवा प्रदान गरिने छ ।
- वडा कार्यालयको भवन लगायत वडाको विभिन्न २० वटा चोकलाई फ्रि वाईफाई स्थान बनाईने छ ।
- विद्युतीय खपत बढाउन, LPG gas प्रतिस्थापन गरी व्यापार घाटा कम गर्न हरेक परिवारलाई एउटा विद्युतीय चुलो (इन्फ्रारेड इन्डक्सन) ५ वर्षभित्रमा वडा नं.१७ मा रहेको सबै घरपरिवारमा निशुल्क वितरण गरिने छ ।
२. कृषि
- निर्वाहमुखी परम्परागत कृषि गरिरहेका किसानहरुलाई कृषि उद्यमी हुन प्रेरित गर्ने र आवश्यक कार्यक्रमहरु संचालन गर्ने ।
- डिप बोरिङ र लिप्टिङ मार्फत सिँचाइ सुविधा उपलब्ध गराउने ।
- कृषि तथा भेटनरी प्राविधिकद्वारा हरेक घर र कृषि फर्महरुमा नियमित (महिनामा एक वा दुई पटक) निरीक्षण वा जाँच गर्ने व्यबस्था गर्ने ।
- वर्षमा दुईपटक निशुल्क पशु जाँच शिविर सञ्चालन गर्ने ।
- हटिया बाख्रापालनको लागि उपयुक्त भएकोले बाख्रापालन प्रवर्धनमा जोड दिने । परम्परागतरुपमा गर्दै आएको अन्य पशुपालनलाई विकास गर्ने ।
- भेटनरी प्राविधिकको संख्या थप गरी निशुल्क पशु जाँच गराउने, औषधि पनि निशुल्क वा लागत मूल्यमा उपलब्ध गराउने ।
- हेटौँडालाई केही कृषि उत्पादनमा आत्मनिर्भर बनाउने प्रयास गर्ने ।
- लागत सहभागितामा आधारित अनुदान कार्यक्रमहरु जस्तै गोठ सुधार, टनेल निर्माण आदि कार्य गर्ने ।
- कृषि सडक निर्माण कार्य विस्तार गर्ने ।
- माटो परीक्षण गराई मेवा, केरा, कागती, च्याउ, कफी लगायत खेती प्रवर्धनमा प्रोत्साहन गर्ने ।
- विषयगत व्यावसायिक कृषि तलिमहरु सञ्चालन गरिने छ ।
- कृषिउपज संकलन केन्द्र तथा हाटबजार सञ्चालन गरिने छ ।
- पशु ल्याब स्थापनाको लागि पहल गरिने छ ।
३. शिक्षा
- शिक्षकहरुमा सीप विकासका लागि आवधिकरुपमा विषयगत तालिमहरुको व्यबस्था गरिने छ ।
- शिक्षण पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने ।
- प्रधानाध्यापक तथा शिक्षकहरुले स्वनिर्मित वार्षिक लक्ष्यलाई आवधिक मूल्याकन गर्ने। लक्ष्य पूरा गर्ने शिक्षकहरुलाई पुरस्कृत गर्ने ।
- सामुदायिक विद्यालयहरुमा गुणस्तर विकासको लागि विषयगतरुपमा आवश्यक शिक्षकहरुको व्यबस्थापन गर्ने ।
- बालविकासको लागि अभिभावक शिक्षा अनिवार्य गर्ने ।
- विद्यालयहरुलाई आधुनिक शैक्षिक सामाग्रीहरु उपलब्ध गराउने ।
- सहायक लेखापाल, ईसीडी शिक्षक तथा सहयोगी कर्मचारीहरुलाई उचित पारिश्रमिकको व्यवस्था गर्न नगर परिषद्मा प्रस्ताव गर्ने ।
- श्री बालबोध माध्यामिक विद्यलयमा इलेक्ट्रोनिक्स् तथा इलेक्ट्रिकल तथा सूचना प्रविधि (IT) विषय पढाउने व्यबस्था गरिने छ ।
४. स्वास्थ्य
- महिनाको एक पटक प्रत्येक घरमा एउटा स्वास्थ्यकर्मी गएर स्वास्थ्य परीक्षण गर्ने व्यबस्था मिलाउने ।
- शहरी स्वास्थ्य प्रबर्धन केन्द्र हटियामा MBBS डाक्टर नियमित उपलब्ध हुने व्यबस्था गर्ने ।
- वर्षमा दुई पटक विषेशज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने ।
- आवधिकरुपमा शिविर सञ्चालन गरी प्राणायम, योग तथा व्यायाम गर्न सबै वडाबासीलाई प्रेरित गर्ने ।
- आर्थिकरुपमा विपन्न नागरिकलाई स्वास्थ्य बिमाको व्यबस्था गर्ने ।
५. पारदर्शिता
- वडा कार्यालयबाट हुने सम्पूर्ण विकास निर्माणका कामहरु, अनुदान, सहयोग, सामाग्रीहरु सूचनापाटी र वडाको आधिकारिक अकाउण्टबाट सञ्जाल (Social Media) मार्फत सार्वजनिक गर्ने ।
- वडासँग माग गरिएका वडाको क्षेत्राधिकारभित्र भएका सूचनाहरु माग भएमा अबिलम्ब उपलब्ध गराउने ।
६. फोहोर व्यबस्थापन
- फोहोरबाट मोहर लाई नारामा सीमित नगरी व्यबहारिकरुपमा कार्यान्वयन गरिनेछ ।
- फोहोर छुट्याउने काम (Garage segregation) को लागि क) प्लास्टिकजन्य, ख) सिसाजन्य र ग) धातुजन्य फोहोरका लागि ३ वटा फरकफरक रङका बाल्टिनहरु बितरण गरिने छ ।
- फोहोर व्यबस्थापन निशुल्क गरिने छ ।
७. महिला सशक्तीकरण
- महिला नेतृत्व विकासको लागि विद्यालय तह र विश्वविद्यालय तहका विद्यार्थीहरूलाई नेतृत्व विकास सम्बन्धी तालिम तथा कार्यशाला गोष्ठीहरू संचालन गर्ने।
- महिलाहरूलाई आर्थिक रूपमा सबलीकरणको लागि उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गर्ने।
८. खेलकुद
- टोलटोलमा व्यायाम
- वडाको कम्तीमा ३ ठाउँमा फुटशल निर्माण गर्ने।
- खेलाडीहरूलाई फुटबल, ब्याडमिन्टन लगायत खेल सामाग्रीहरू उपलब्ध गराउने।
९. अन्य
- सार्वजनिक जग्गा संरक्षण गरिने छ ।
- हेटौँडा उपमहानगरलाई व्यबस्थित सहरको रुपमा विकास गर्न योजना निर्माण तथा कार्यान्वयनमा नगरकार्यपालिकामा सक्रिय भूमिका निर्वाह गर्ने ।
- प्रादेशिक मन्त्रालय तथा विभागहरु १७ नं. वडामा ल्याउन पहल गर्ने ।


