मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचन -२०७९ मा सत्ताधारी ५ दलीय गठबन्धनको बिरूद्वमा मकवानपुर कांग्रेस उठेको छ ।
पार्टीको सांगठनिक अवस्थालाई बेवास्ता गर्दै गठबन्धन गरेको भन्दै कांग्रेस मकवानपुरमा असन्तुष्टि सुरू भएको हो । पार्टी नेतृत्वले उक्त सहमति सच्याउन माग गर्दै दिनहुँ दबाबका कार्यक्रम भैरहेको छ । हिजो नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका कमिटीले पत्रकार सम्मेलन मार्फत केन्द्रमा गठवन्धनले गरेको निर्णय हेटौंडामा नमान्ने चेतावनी दिएका थिए भने आज कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा भन्दा बाहेकका नेताहरुले पत्रकार सम्मेलन गर्दै हेटौंडाको मेयरमा कांग्रेसलेनै पाउनुपर्ने माग गरेका छन् ।
कांग्रेस मकवानपुरका उपसभापतिहरू आनन्द कठायत, धर्म लामिछाने, सचिब भिमसेन महत, ईश्वर पाठक, सहसचिब ईन्दिरा न्यौपाने, पूर्व सभापतिहरु माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, महासमिति सदस्य जयराम लामिछाने लगायतका जिल्ला स्तरका नेताहरुले पत्रकार सम्मेलन मार्फत हेटौंडाको मेयर कांग्रेसले नपाए छुट्टै उमेदवारी दिने सम्मको चेतावनी दिएका हुन्।
सरकारमा रहेका गठबन्धन दलहरुले हेटौंडाको मेयर समाजबादीलाई दिने निर्णय गरेपछी मकवनपुरका कांग्रेसका नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका हुन् ।
गठबन्धनको निर्णय पुनराबलोकन नभए यथा स्थितिमा निर्वाचनमा जाँदा गठबन्धनको आवस्यक्ता, औचित्य र मर्म विपरित परिणाम आएमा त्यसप्रति आफुहरु जिम्मेवार र जवाफदेही नहुने उपसभापति कठायतले बताए । कांग्रेसले हेटौंडाको प्रमुख पद पाउँदा गठवन्धनमा रहेका सबै दलहरुलाई सहज रुपमा निर्वाचनमा जाने वातावरण सिर्जना हुने बताइएको छ । केन्द्रमा भएको निर्णय तत्काल सच्याएर मात्र चुनाबमा जान माग गरिएको छ ।
