मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचन -२०७९ को लागि मकवानपुरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालय आज उद्घाटन गरिएको छ ।
मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कार्यालयको उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन गर्दै मुख्य न्यायाधीश श्रेष्ठले निर्वाचन भनेको समाजमा सुरक्षा र भयरहित बाताबरण सिर्जना गर्ने सकारात्मक अभ्यास भएको बताए ।
मकवानपुर जिल्लाको १० वटै स्थानीय तहमा आजैबाट कार्यालय खोलिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।
मकवानपुर जिल्लाको १९ वटा अति संवेदनशील मतदान स्थलमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरूले स्थलगत अनुगमन गरेको पाण्डेले बताए । हाम्रो नजरले केहि सुरक्षा चुनौती छन्, यद्यपि ति मतदान स्थलमा ढुक्क भएर मतदान गर्ने अवस्था भएकोले मतदातालाई सशंकित नहुन उनले आग्रह गरे ।
निर्वाचनलाई सफल पार्न राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने भएकोले सकारात्मक समन्वय र भूमिका निर्वाह गर्न पाण्डेले अपिल गरे । यस अघि निर्वाचन सम्बन्धी आचारसंहिताको सवाल प्रजिअले हेर्ने भएकोमा आजको मितिबाट सम्बन्धित निर्वाचन अधिकृतले सम्बन्धित स्थलको आचारसंहिता अनुगमन गर्नेछन्
आज खोलिएका कार्यालयको सुरक्षाको लागि आजै बाट ५/५ जना शसस्त्र प्रहरी खटाएको प्रजिअ पाण्डेले बताए । चुनावी थप सुरक्षाको लागि मकवानपुर जिल्लामा १ हजार ४५१ म्यादी प्रहरी पनि खटाइने तयारी भएको पाण्डेले बताए ।
निर्वाचन अवधिको लागि ३ हजार कर्मचारी परिचालन गर्ने तयारी गरिएको छ । मतदानपछि मतपेटिकाहरू संकलनको लागि कार्ययोजना बनाएको पाण्डेले बताए ।
मकवानपुर जिल्लाको १० वटै मतगणना स्थलमा सिसि क्यामरा जडान गरेर केन्द्रीय तहबाट निगरानी राख्ने समेतको तयारी भएको छ । चुनाव एउटा उत्सव र अभियान जस्तै भएकोले उत्सवमा संयमित भएर सहभागी हुन मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले अनुरोध गरे । आचारसंहितामा बांधेर कसैको स्वतन्त्रता कुण्ठित गर्ने नभै लोकतान्त्रिक प्रक्रियालाई स्थापित गर्न लागेको श्रेष्ठले बताए।
कार्यालय उद्घाटन कार्यक्रम नेकपा एमालेका मदन दाहाल, माओवादीका प्रेमबहादुर पुलामी, नेकपा एकीकृत समाजवादीको मिना लामा, नेपाली कांग्रेसका बुद्ध लामालगायत पार्टी प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

