मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचन -२०७९ मा सत्ताधारी ५ दलीय गठबन्धनमा सहमति खोज्दा महिलालाई पाखा लगाउने अवस्था आउन लागेको भन्दै नेपाली कांग्रेस मकवानपुरका नेतृहरूले आपत्ति जनाएका छन् ।
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले मेयर र कांग्रेसले उपमेयर पाउने केन्द्रिय सहमति भएसंगै मकवानपुरमा महिलाको नेतृत्व अवसर गुम्न लागेको प्रति ध्यानाकर्षण गराईएको हो । कांग्रेस हेटौंडा उपमहानगर कमिटीले यस अघि मेयर र उपमेयरमा नाम सिफारिस गरेर पठाइसकेको थियो । तर अब कांग्रेसले मेयर नपाउने भएपछि यस अघि मेयरको दाबिमा रहेकाहरू उपमेयरमा ओर्लिएर उपमेयरमा सिफारिस भएका महिला नेतृहरूलाई पाखा लगाउने खोजिएको भन्दै उनीहरूले आपत्ती जनाएका हुन् ।
यस अघि पार्टीको वडा हुंदै नगरकमिटिले उपमेयरमा सिफारिस गरेर पठाएको पार्टी सहसचिव इन्दिरा न्यौपाने, नेतृहरू अमृता थापा र तारा कुमारी राई कार्कीले आफूहरू मध्येबाटै उपमेयर टुङ्गिनु पर्ने माग गरेका हुन् ।
यस अघि पार्टीबाट हेटौंडाको मेयरमा दाबि गर्दै आएका भिमसेन महत, प्रभात दाहाल, राजेश बानियाँमध्ये उपमेयर फाईनल हुने आन्तरिक तयारी रहेको बुझिन आएपछि,त्यसो हुन नदिन उनीहरूले माग गरेका हुन् ।

