मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–४ स्थित पशुपतिनाथ माविको नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । २०७२ को भूकम्पका कारण क्षतिग्रस्त विद्यालयमा नेपाल सरकारले दातृनिकाय एसियाली विकास बैंकको ऋण सहयोगमा ९ वटा कक्षाकोठा भएको भवन निर्माण गरिएको थियो ।
लोपोन्मुख वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयकाे नवनिर्मित विद्यालय भवन साेमबार हस्तान्तरण गरिएको छ । पशुपतिनाथ मावि व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय भवन सम्पन्न प्रमाणपत्र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमलाई हस्तान्तरण गरेका थिए । इकाई प्रमुख गौतमले विद्यालय भवन मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई हस्तान्तरण गरेका हुन् । यस्तै पालिका अध्यक्ष उप्रेतीले पशुपति मावि व्यवस्थापन समितिका अध्यक्ष गौतमलाई साँचो र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
विद्यालयकाे भूकम्प प्रतिरोधी भवन ३ करोड ८ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हाे । यसैगरी विद्यालयका थप १३ वटा कक्षाकोठालाई पौने २ करोड रुपैयाँ लागतमा प्रबलिकरण गर्ने कार्य भइरहेकाे बताइएकाे छ ।
विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले मन्दिरको सत्तलमा कक्षा संचालन गरी स्थानीय बालबालिकालाई शिक्षा प्रदान गरेको स्मरण गर्दै भवन निर्माण पछी विद्यालयकाे शैक्षिक क्षेत्र उज्ज्वल रहने विश्वास व्यक्त गरे । विद्यालयमा करिब ५ सय बालबालिका अध्ययन गरिरहेका छन् । विद्यालयमा लोपोन्मुख वनकरिया, सिमान्तकृत चेपाङ र तामाङ् समूदायका बालबालिका अध्ययनरत छन् ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत तथा सूचना अधिकारी कृष्णप्रसाद पौडेल, मनहरी गाउँपालिकाका शिक्षा प्रमुख हरिचन्द्र सापकोटा, स्रोत शिक्षक पूर्णभद्र भुषाल, समाजसेवी भरत पराजुली, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्षहरु चन्द्रबहादुर न्यौपाने, बालमुकुन्द ढकाल, रामहरि बिष्ट, पवन खड्का, पुर्षोत्तम बिष्ट, शिक्षक अभिभावक संघका संयोजक ऋषिराम गौतम, भवन निर्माण कार्यमा संलग्न इन्जिनियर मुकेश जैसवाल, सन्दिप बिष्टलगायतको सहभागिता रहेको थियो ।

