मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुरले मकवानपुरमा ६ स्थानीय तहमा प्रमुख पदको दावि गरेको छ । मागेजस्तै नपाए समाजवादी एक्लै चुनावि मैदानमा जाने गरी तयारीमा जुटेको बताइएको छ ।
आज सोमबार पार्टीको जिल्ला कमिटी बैठकमा रिपोर्टिङ गर्ने क्रममा भूगोलका इञ्चार्जहरुले ६ वटा स्थानीय तहममा मेयर र अध्यक्ष पाउनु पर्ने गरी पार्टीलाई लबिङ गर्न खबरदारी गरे । पार्टी संगठन राम्रो भएको मनहरी, राक्सिराङ, भीमफेदी, कैलाश, ईन्द्रसरोवर र हेटौँडा उपमहानगरपालिकामा अध्यक्ष र मेयर पाउनु पर्ने गरी गठबन्धनमा छलफल गर्न इञ्चार्जहरुले बैठकमा रिपोर्टिङ गरेका थिए ।
राक्सिराङका इञ्चार्ज कृष्णबहादुर चेपाङ र मनहरीका इञ्चार्ज भूमिनन्द अर्यालले दुवै भूगोलमा गठबन्धनमा सम्मानजनक सहभागिता नभए एक्लै उठ्न पनि पार्टी पंक्ति तयार रहेको रिपोटिङ गरेका छन् ।
यता गठबन्धनले कैलाश र ईन्द्रसरोवर गाउँपालिकामा समाजवादीलाई अध्यक्ष दिन तयार भएको बताइएको छ । हेटौँडा उपमहानगरपालिकामा मेयरसहित ५ वटा वडामा समाजवादीको दाबी छ । गठबन्धनमै जाँदा पनि मेयरसहित ५ वटा वडामा दाबी रहेको पार्टी उपाध्यक्ष एवम् हेटौँडा उपमेयर मीना लामाले बताइन् । पछिल्लो समय पार्टी संगठन सुदृढ भएकाले भीमफेदीमा पनि अध्यक्षको दाबी गर्ने आधार भएको रिपोर्टिङ थियो इञ्चार्ज शिवहरि बर्तौलाको ।
यस्तै, बैठकमा समाजवादीले कम्तीमा उपाध्यक्षसहित सम्मानजनक ढंगले वडाध्यक्षहरु पाउनु पर्ने दाबीमा मकवानपुर गढी र वकैया गाउँपालिका रहेको छ । थाहा नगरपालिका र बागमती गाउँपालिकामा मात्र समाजवादीले तत्काल अध्यक्ष, उपाध्यक्ष या मेयर उपमेयरमा दाबी गरेको छैन । बैठकमा रिपोर्टिङ गर्ने इञ्चार्जहरुले गठबन्धनसँग कम्तीमा वडामा ३९ वटा वडा माग गर्न आग्रह गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) मकवानपुरका बैठकमा बैठकको अध्यक्षता गरेका पार्टी अध्यक्ष श्रीधर पोखरेलले मकवानपुरका गठबन्धनका दलहरुसँग भएको बैठकबारे ब्रिफिङ गरेका थिए । उनले गठबन्धनमा सहभागी दलहरुले राखेको अडान, एकीकृत समाजवादीले राखेको अडान र सहमतिका विषयमा पुग्न सकिने आधारहरुबारे बताए ।

