मकवानपुर । हेटाैडा एकेडेमीले जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ नवलपुरस्थित एकेडेमीले आगामी शैक्षिक सत्रबाट जेहेन्दार विद्यार्थीहरुका लागि विभिन्न ३ विधाको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हाे । एकेडेमीले साेमबार पत्रकार सम्मेलन गरी कक्षा १ देखि ९ सम्म अध्ययनरतमध्ये ३ सय ३६ विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको हो ।
एकेडेमीका अनुसार ‘माधवराज सुमार्गी स्मृति ’छात्रवृत्ति १ सय ८९ जनालाई, ‘रुपचन्द्र विष्ट थाहा स्मृति छात्रवृत्ति १ सय ८ जनालाई र विश्वकान्ति कलावती सुमार्गी छात्रवृत्ति ३९ जनालाई प्रदान गरिने भएको हो । विद्यार्थीहरुले परिक्षामा पाएको नजिजाको आधारमा छात्रवृत्ति प्रदान गरिने छ । विद्यार्थीले परिक्षामा ल्याएको नतिजाको आधारमा २५ प्रतिशत छुटदेखि सतप्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था मिलाइएको छ । यी छात्रवृत्तिहरुले विद्यार्थीहरुलाई अध्ययन क्षेत्रमा नयाँ जोश जाँगर पैदा हुने र अध्ययनशील बालबालिका भएका अभिभावकले आर्थिक अभावकै कारण विद्यालय पठाउन नसक्ने बाध्यताको अन्त्य हुने एकेडेमीकाे विश्वास रहेकाे छ ।
एकेडेमीका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्दै विद्यार्थी र अभिभावकप्रति थप जिम्मेवार एवम् जवाफदेही भएर आफुहरु अघि बढिरहेको बताए । उनले आगामी आर्थिक बर्षबाट एकेडेमीले प्लस टु सम्मको अध्यापन सुरु गर्ने पनि बताए । हाल एकेडेमीमा १० कक्षासम्म अध्यापन हुँदै आएको छ । एकेडेमीले यसअघि पनि मामाघर नेपाल नामक बालआश्रमका एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

