मकवानपुर/ वरिष्ठ संगीतकार शक्ती बल्लभ नित्य गोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार २०७८ बाट सम्मानीत हुुने भएका छन् ।
मकवानपुरको अग्रेणी संस्था मातृभूमि साहित्य समाज मकवानपुरले शक्ती बल्लभलाई पुरस्कृत तथा सम्मानीत गर्ने भएको हो । समाजले आज बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । समाजका अध्यक्ष माधब पोख्रेलका अनुसार संगीतकार शक्ती बल्लभले ३० भन्दा बढी चलचित्रमा संगीत भर्नुका साथै ७ सय भन्दाबढी गीतहरुमा संगीत भरिसकेका छन् । त्यस्तै गोरखाका छन्द कवि सिताराम अधिकारीलाई होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान गरिने अध्यक्ष पोख्रेलले बताए ।
पर्वतका सायित्कार गंगा पौडेललाई मायादेवी मातृभूमि पुरस्कार, नवलपरासीका पुरातत्व विद् बसन्त विडारीलाई क्षेत्र बहादुर स्मृतिमातृभूमि सम्मान गरिन लागिएको उनले बताए । मकवानपुरका नाट्य क्षेत्रका नाटककार तथा कलाकार उज्वल शर्मा भण्डारीलाई राजकुमार स्मृति मातृभूमि सम्मान गरिने छ भने लामो समय मकवानपुरमा पत्रकारिताका गर्दै आउनुभएका पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठलाई केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार प्रदान गरिने अध्यक्ष पोख्रेलले बताए ।
भ्वाइस अफ किड्सका विजेता जेनिश उप्रेतीलाई मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान र मकवानपुरका सामाजिक अभियान्ता सरस्वती बर्तौलालाई मञ्जु सुवेदी स्मृति सम्मान २०७८ प्रदान गरिने जनाइएको छ । नगद सहित प्रमाणपत्र प्रदान गर्दै पुरस्कार तथा सम्मान गर्ने जनाइएको छ । समाजले २६ चैत्रमा आयोजना गर्ने उक्त सम्मान तथा पुरस्कार वितरण गरिने समाजका उपाध्यक्ष कृष्णप्रसाद दाहाल बताए ।

