मकवानपुर । प्रथम बागमती खेलकुद प्रतियोगिता अन्तरगत पुरुषतर्फको क्रिकेट खेलकाे उपाधि मकवानपुरले हात पारेको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा जारी खेलकुदमा क्रिकेट खेलकाे उपाधि मकवानपुरले जितेकाे हाे ।
सोमबार चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा धादिङ जिल्लालाई २४ रनले पराजित गर्दै मकवानपुरले उपाधि हात पारेको छ । मकवानपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । मकवानपुरका खेलाडी रिजन ढकालले ४२ रन बनाएका थिए भने बलिङतर्फ धादिङका उज्वल थापाले ३ विकेट लिएको थियाे ।
धादिङले २० ओभरमा सबै विकेट गुमाउदैं १ सय २४ रनमा समेटिएर लक्ष्य पुरा गर्न सकेन । मकवानपुरले २४ रनले जित्दै उपाधि जितेकाे खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । विजेता र उपविजेतालाई ट्रफी, पदक, प्रमाणपत्रसहित जनही ५ हजर नगद पुरस्कार प्राप्त गरेका छन् । समापन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी, बागमती क्रिकेट संघका अध्यक्ष राजु बस्नेत, क्रिकेट संघ चितवनका कार्यबहाक अध्यक्ष सुदीप पियाँ लगायतकाको उपस्थिती रहेको थियो ।
तेक्वान्दो खेलका विजयीलाई सोमबार पुरस्कार वितरण
हेटौंडामा भएको तेक्वान्दो खेलका विजयीलाई सोमबार पुरस्कार वितरण गरिएको छ । विभिन्न तौल समूहका महिला तथा पुरुष खेलाडीका साथै तेक्वान्दोको पुन्से खेलमा पुरुष तथा महिला र समूहका विजयी खेलाडीलाई पुरस्कृत गरिएको खेल संयोजक माधब कोइरालाले बताए ।

प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण गरिएको हाे । तेक्वान्दो खेलमा सबैभन्दा बढी पदक चितवनले जितेकाे छ । चितवनले ६ स्वर्ण, ८ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । यस्तै नुवाकोटले ४ स्वर्ण, ६ रजत र ४ कास्य पदक हात पार्दा मकवानपुरले २ स्वर्ण, २ रजत तथा ८ कास्य प्राप्त गरेको छ । काठमाडौंले ३ स्वर्ण, २ रजत र ५ कास्य पदक प्राप्त गरेको खेल संयोजक कोइरालाले बताए ।
काठमाडौंको दशरथ रंगशालामा आइतबार जारी एथलेटिक्स अन्तरगतका विभिन्न खेलहरु सम्पन्न भएका छन् । सिन्धुपाल्चोकको चौतारा कभर्डहलमा कराँतेका खेलहरु भएका छन् । त्यस्तै, काभ्रेको धुलिखेल खेल मैदानमा महिला फुटबल खेल सुरु भएको खेल संयोजक कल्पना शर्माले बताइन् । ९ गतेदेखी काभ्रेमै बक्सिङ खेलका प्रतियोगिता सुरु हुनेछ । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

