मकवानपुर । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । सोमबार बसेको स्थायी कमिटिमा उम्मेदवार छनोटको मापदण्ड बनाएको हो । एमालेले उम्मेदवार छनोटकोअधिकारबारे स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्दै मापदण्ड बनाएकाे हाे
पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन हुनेछ । गरुङका अनुसार कार्य क्षमता, विकास र सुशासनप्रति दृष्टिकोण, लोकप्रियता र चुनावमा जित्ने आधार, पार्टीको आन्दोलनमा पुर्याएको योगदान र पार्टीप्रति निष्ठाका साथै सन्तुलन र समवेशीलाई उम्मेदवार छनोटको मापदण्ड बनाइएको छ ।
स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरुको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटिहरुले गर्नेछ । त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटीले सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ ।
प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटिले नै निर्णय गर्ने बताए । महानगरका मेयर र उपमेयरका उम्मेदवारबारे निर्णय प्रदेश कमिटिको सिफारिसमा केन्द्रीय कमिटीले गर्नेछ ।
पार्टीमा प्रवेश गर्नेहरुको व्यवस्थापनका लागि आवश्यक विभागहरु गठन गर्ने अनुमति आवश्यकता अनुसार प्रदेश र जिल्ला कमिटीहरुलाई दिने निर्णय पनि बैठकले गरेको छ ।

