मकवानपुर/ बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले रंगहरुको पर्वका रुपमा मनाइने फागु पर्व (होलि) को अवसरमा शुभकामना सन्देश दिएका छन् ।
फागुपर्व (होली) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले पर्वले मौलिक संस्कृतिको पहिचान बचाउने बताएका छन् । “मौलिक पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधी राख्नेछन्” शुभकामना सन्देशमा भनिएको छ ।
पहाडी र हिमाली तथा भित्री मधेसका जिल्लाहरुमा आज (विहीबार) र तराईका जिल्लाहरुमा भोलि शुक्रबार होलि मनाइदै छ ।
‘बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक, बहुधार्मिक, विविधतायुक्त हाम्रो देश यही विविधताभित्र एकता, सद्भाव र सहिष्णुताका लागि संसारको उत्कृष्ट नमूना बनेको उनले उल्लेख गरेका छन् । “हामीले हाम्रा विशेषताप्रति गौरवबोध गर्न सक्नुपर्दछ, अमूल्य मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्धन हाम्रो राष्ट्रिय गौरवको धरोहर संरक्षित हुन सक्ने छ” शर्माले सन्देशमा भनेका छन् ।
शर्माले आपसी खुसी र सहमतीको पर्वका रुपमा स्वीकार गरी अनुशासित र मर्यादित भएर मनाउन सबै उत्साहित हुनुपर्नेमा जोड दिएका छन् । “मानव जीवन रंगीन र उल्लासमय बनाउन होलीले सकोस्” उनले सन्देशमा भनेका छन् ।

