मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको फागुन १५ गते हुने अधिवेशनमा जिल्ला सभापति पदमा आनन्दराम पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । पराजुलीले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन तथा उम्मेदवारी घाेषणा कार्यक्रमकाे आयोजना गरी आफ्नो उम्मेदवारी घाेषणा गरे । उनले आफ्नाे उम्मेदवारी संस्थापन पक्षबाट रहेको दावी समेत गरेका छन् ।
पराजुलीले आफु सभापति पदमा विजयी भएमा मकवानपुर जिल्लालाई कांग्रेसमय बनाउने, तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने, जनताको सुख दुःखमा साथ दिने र विकास निर्माणमा सधै लागि पर्ने प्रतिवद्धता जनाए । साथै उनले आफुलाई कांग्रेसको केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको समर्थन रहेको दावी गरे ।
उम्मेदवारी घोषणा कार्यक्रममा कांग्रेसका नेताहरु दामोदर खनाल, सुशान्त श्रेष्ठ, यतिराज सापकोटा, विश्वलाल लामा, राजवीर मोक्तान, प्रकाश बर्तौला, भूमिनन्द गौतमलगायत विभिन्न वडा सभापतिहरुको उपस्थिति रहेको थियो ।

१४ बुँदे प्रतिबद्धता सार्वजनिक
शुक्रबार काँग्रेस मकवापुरको जिल्ला सभापतिकाे उम्मेदवार घाेषणा गरेका पराजुलीले १४ बँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । चुनावी तयारीलाई तीब्रता दिएका पराजुलीले आफुलाई मत दिन अपिल गर्दै विहीबार प्रतिबद्धता सार्वजनिक गरेका हुन् । सभापति पदमा उम्मेदवार घाेषणा कार्यक्रममा उक्त प्रतिबद्धता पत्र समेत बाडिएकाे थियाे ।
पराजुलीले सार्वजनिक गरेकाे प्रतिवद्धता पत्रमा एकताबद्ध सुदृढ र सबल पार्टी निर्माण, समावेशी स्वरुप र समावेशी प्रतिनिधित्वमूलक पार्टी निर्माण, तीनै तहको सरकार निर्माण, निर्वाचनमा निरन्तर क्रियाशील, योग्य र लोकप्रिय उम्मेदवारी, युवामैत्री काँंग्रेस निर्माण छन् । यसैगरी प्रतिबद्धता पत्रमा अग्रजहरुको पहिचानसहित उच्च सम्मान, भातृ तथा शुभेच्छुक संस्थाको योगदान अभिलेख, हाम्रो पहिचान राजनीतिसँग स्वरोजगार अभियान, काँग्रेसलाई मकवानपुरमा पहिलो पार्टी बनाउने अभियान, सक्रिय कार्यकर्ताको उल्लेखनीय बृद्धि, कार्यकर्ताको मनोबल उच्च राख्न कार्यकर्ता प्रशिक्षक कार्यक्रम गर्ने उल्लेख छ ।
पराजुलीले आफू सभापति हुँदा आर्थिक समृद्धिको लागि सुदृढ सुशासन, एकता समन्वय र सहकार्यका लागि लचकता सहितको अभियान र संगठन सुदृढिकरणका लागि विकास अभियान संचालन गरिने समेत प्रतिवद्धतामा दाबी गरेका छन् ।
जिल्लाको कुनाकन्दरासम्म पुगेर कार्यकर्तामाझ लोकप्रिय देखिएका उनले आफु सभापतिमा निर्वाचित भएपछि जिल्लामा गुटरहित पार्टी बनाएर सबैलाई एकबद्ध बनाउन जोड दिने समेत बताए ।

