मकवानपुर । जनप्रतिनिधि विहीनताको अवस्थामा कृषिबाट जीवनस्तर धान्न नसकिएको भन्दै वैदेशिक रोजगारको क्रममा युवा शक्तिको पलायन खेप्दै आएको मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका अहिले कृषिमा समृद्धि हासिल गर्दै छ ।
स्थानीय तहको निर्वाचनसँगै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि विदुर हुमगाईको ध्यान कृषिको समृद्धि कसरी गर्ने भन्नेमा प¥यो । दैनिक पलायन हुँदै आएको युवा शक्तिलाई आफ्नो भूमिमा रमाएर कृषिमा समृद्धि ल्याउने सुनौलो सपना देखे अध्यक्ष हुमगाईले । उनको सपनालाई बल दियो गाउँपालिकाको सिंगाे जनप्रतिनिधिको र कर्मचारीको समूहले ।
निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिदै गर्दा मकवानपुरगढी गाउँपालिकाले कृषि समृद्धिमा धेरै फड्को मारेको छ ।
कृषिमार्फत सर्वसाधारणको जनजीविका उकास्न सकिने सत्यलाई मनन गर्दै मकवानपुरगढी गाउँपालिकाले कृषिमा लगानीलाई विशेष प्राथमिकता दिंदै आएको हो । गाउँपालिकाले स्थानीय उत्पादनहरुको मुल्य निर्धारण गर्नेदेखि दुध, मासु तथा फलफूलमा अनुदान दिने कार्यक्रमहरु समेत लागु गरेको छ । जसको कारण आफूहरुलाई कृषिमै रमाउन थप बल पुगेको मकवानपुरगढी गाउँपालिका वडा १ की कृषक सृजना योञ्जनले बताइन् ।
मकवानपुरगढी गाउँपालिकामा प्लाष्टिक घर भित्र गोलभेडालगायतका तरकारी बालीखेतीको आकर्षण बढेको छ । हाल यस गाउँपालिकाभित्र झण्डै ८२ हजार वर्गमिटर जमिनमा टनेलभित्र मौसमी र बेमैसमी गरी विभिन्न प्रकारमा तरकारी बाली लगाइएको छ । गाउँपालिकामा प्लाष्टिक घर भित्र गोलभेडालगायतका तरकारी खेतीगर्ने कृषकहरुको संख्या दिनानुदिन बढदै गएको र ती कृषकहरुले यो प्रविधिको माग समेत अत्याधिक गर्न थालेको गाउँपालिका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

गाउँपालिकाले कृषि बाली अन्तरगत बढेको टनेलभित्र तरकारी खेतिमा बढेको आकर्षणलाई अध्ययन गरेर अनुदानको कार्यक्रमहरु वितरण गरेको कृषिशाखा प्रमुख चौधरीले बताए । बिगत केहीवर्षदेखि यस मकवानपुरगढी गाउँपालिकाका कृषकहरुले फाटफुट रुपमा साविक जिल्ला कृषि विकास कार्यालय मकवानपुर र केही गैर सरकारी संस्थाहरुको सहयोगमा प्लाष्टिक घरभित्र बेमौसमी गोलभेडा तथा अन्य तरकारीहरु उत्पादनमा लागिपरेको उनले बताए । स्थानीय तहको निर्वाचन पश्चात मकवानपुरगढी गाउँपालिका र कृषि ज्ञान केन्द्र चितवनको सहयोग तथा सहकार्यमा प्लाष्टिक घरभित्र गोलभेडा तथा अन्य तरकारीहरु व्यवसायिक रुपमा उत्पादन गर्ने कृषकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको उनले बताए ।
खासगरी बेमौसमी तरकारी उत्पादनका प्रविधिहरु भित्रिएपछि कृषकहरु ब्यवसायिक रुपमै बेमौसमी कृषि उपज उत्पादन गर्न सफल भएका छन् । बेमौसममा उत्पादित कृषि उपजहरुले उच्चमुल्य पाउने भएकोले उत्पादनलागत केहि बढि भएता पनि उत्पादन आय अरु बढि बढ्ने भएकोले कृषकहरुको समग्र आय उच्चहुने र पारिवारी समृद्धि छिटै हुने गरेको छ । भौगोलिक बिबिधता उपयोग गर्दै, प्रतिकुल मौसममा पनि बजार मागलाई सम्बोधन गर्ने गरी तरकारी उत्पादन गर्ने र बढिभन्दा बढि आयआर्जन गर्ने बाली पद्धती नै बेमौसमी तरकारी उत्पादन प्रविधि भएको चौधरीले बताए ।
प्लाष्टिक घर निर्माण गरि गरिने खेती प्रविधि बेमौसमी तरकारी उत्पादन प्रविधिको हिसाबले सबैभन्दा सफल र लोकप्रिय बन्दै गएको उनले बताए । चिसो हिँउद र झमझम पानी परिरहने बर्षात मौसममा समेत तरकारी फलाएर बजारको मागपूर्ति गरि मनग्य आम्दानी लिन सकिने प्रविधि नै प्लाष्टिक घरमा उत्पादन गरिने तरकारी खेति प्रविधि हो ।

गाउँपालिकाको सबै वडामा प्लाष्टिक घरमा गोलभेडा खेति
गाउँपालिकाको ८ वटै वडाहरुमा प्लाष्टिक घरमा गोलभेडा खेति भएको छ । तथ्याँक अनुसारगाउँपालिकामा कुल ९ सय ७ प्लाष्टिक घरहरु रहेका छन । सबै भन्दा बढि प्लाष्टिक घर वडा न.८ बुढीचौरमा ३ सय ५३ वटा रहेका छन् । यसैगरी वडा २ मा १ सय ९९ वटा प्लास्टिकको घरभित्र टनेल तरकारी खेति गरिएको छ । पालिकाको वडा १ मा सबै भन्दा कम २७ वटा टनेल घरमा तरकारी खेति गरिएको छ । गाउँपालिकाको तल्लोे क्षेत्रभन्दा माथिल्लो क्षेत्रमा बढि मात्रामा प्लाष्टिक घरहरु रहेका छन् । प्लाष्टिक टनेलनिर्माण तथा खेतीकार्यमा तपशिल अनुसारका संस्थाहरुले विभिन्न प्रकृतिको सहयोग गरेकाे चाैधरी बताउँछन् ।
पालिकाको कृषि विकास शाखा प्रमुख चौधरीद्वारा गरिएको अध्ययन अनुसार ९ सय ७ वटा प्लास्टीक घरहरु मध्ये ९५ प्रतिशत प्लास्टीक घरहरु गोलभेडा खेतीको लागि प्रयोग भएका छन । बाँकी ५ प्रतिशतजति घरहरु अन्य तरकारी खेतीमा प्रयोग भएका छन् । जसमा अकबरे खुर्सानी,र घरायसी प्रयोजनमा समेत प्रयोग भएको पाईन्छ । ब्यवस्थापकीय कमजोरीका कारण सबै प्लास्टीक घरहरुबाट एकै नासको उत्पादन आउन सकेको अवस्था छैन ।

असार मसान्त सम्ममा लिईएको तथ्याँक अनुसार कृषकहरुले प्रति टनेल (६ ह १२ मी. साइज) औषतमा ६ सय किलोग्राम गोलभेडा बिक्रि गरि करिव २४ हजार बराबरको गोलभेडा बिक्री गरिरहेका छन् । बार्षिक रुपमा करिब प्रतिवर्गमीटर सरदर १० किलोको दरले ८ लाख १६ हजार २ सय ७० किलो उत्पादन हुने देखिन्छ । यसबाट प्रतिवर्गमीटर कूल आम्दानी सरदर ४ सय हुन आउने उनले बताए । यसबाट गाउँपालिकाले करिव ३२ करोड ६५ लाख आम्दानी गरेको छ । तुलनात्मक रुपमा अन्य तरकारीको तुलनामा गोलभेडा खेतिबाट सन्तोषजनक आम्दानि भैरहेको वडा नम्बर ७ मा कृषक राजकुमार दोङले बताइन् । गोलभेडा बाहेक मौसमअनुसारका अन्य तरकारीहरुबाट पनि उत्पादनर आम्दानि भइरहेको छ ।
गाउँपालिकामा उत्पादन भएका तरकारी लगायतका कृषि उपजहरुलाई बजारीकरणको समस्या भने नरहेको कृषकहरुको भनाइ छ । जिल्ला सदरमुकाम तथा बागमतीप्रदेशको राजधानी समेत रहेको हेटौडामा बजार प्रमुख रुपमा तरकारी खपत हुने
गरेको छ । त्यसैगरि तरकारीहरु स्थानीयबजारमा खपत हुनुका साथै काठमाण्डौ र तराईका बजारहरु श्रजीतपुर (बारा), बीरगञ्ज (पर्सा) सम्म पुग्ने गर्दछ । हाल सम्मको उत्पादनको अवस्थालाई हेर्दा अझै बढी मात्रामा उत्पादन गर्न सके यसै क्षेत्रमा खपत चौधरीले बताए ।

फागुन १२ गते विहीबारकाे सहीखबर साप्ताहिकमा प्रकाशित सामग्री

