मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा सभापति पदका उम्मेदवार जयराम लामिछानेले आफ्नो चुनावी प्यानल घोषणा गरेका छन् । लामिछानेले शुक्रबार हेटौंडामा उम्मेदवारी घाेषणा तथा पत्रकार सम्मेलनको आयोजना गरी सभापतिमा आफ्नो उम्मेदवारी सहित अन्य पदाधिकारीको चुनावी प्यानल घोषणा गरेका हुन् । उनले आफ्नाे उम्मेदवारी संस्थापन इतर पक्षको तर्फबाट रहेकाे बताएका छन् ।
लामिछानेकाे चुनावी प्यानलबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न गोलेले उम्मेदवारी दिने छन् । यसैगरी सदस्य छनौट भूगोल र क्लस्टर अनुसार हुने भएकाले सोही अनुसार उम्मेदवारी चयन गर्न जिम्मेवारी प्रदान गरिएको लामिछानेले बताए । जिल्ला सदस्यहरुमा तारा राई कार्की, पूर्णप्रसाद पुडासैनी, गोपीराम बल, शिवप्रसाद खनाल, सुशीला न्यौपाने बुढाथोकी लगायत उम्मेदवार बनाउने तयारी रहेकाे बताइएकाे छ ।
कांग्रेसको विधान अनुसार उपसभापति, सचिव र सहसचिव दुई/दुईजना हुने व्यवस्था रहेको छ । पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, रामचन्द्र अर्याल ‘माइकल’, उमा दाहाललगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

