मकवानपुर । नेपाली काँग्रेस मकवानपुर जिल्लाको अधिवेशन र निर्वाचन हुने निश्चित भएपछि सभापती प्रत्यासीहरुले चुनावी माहाेल बनाउने कसरत थालेका छन् । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाेले दाबेदारका रुपमा रहेकाे सभापति उमेदवारहरुले चुनावी माहोल तताउन थालेका हुन् ।
सभापति पदका बलियो दाबेदारका रुपमा देखिएका आनन्दराम पराजुलीले मकवानपुरको उत्तरी क्षेत्रमा प्रचारप्रसारलाई तिव्रता दिएका छन् । पराजुलीको प्रतिस्पर्धीका रुपमा रहेका अर्का प्रत्यासी जयराम लामिछानेको गृह इलाकामा पराजुलीले बुधबार पदाधिकारी र सदस्यका प्रत्यासीहरु सहितकाे टोलीले प्रचार प्रसार गरेका छन् ।
संस्थापन इत्तर पक्षबाट सभापतिको प्रत्यासी बनेका लामिछानेको इलाका मानिने थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाबाट मत आफूतिर तान्न कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि, वडा/गाउँ/क्षेत्रका सभापतिसँग भेटघाट र प्रचारप्रसारमा जोड दिएका हुन् । संघीय क्षेत्र नम्बर २ मा पर्ने उत्तरी क्षेत्र इलाकामा २०७० को निर्वाचनमा लामिछाने काँग्रेसको तर्फबाट संविधानसभा सदस्यको उम्मेदवार बनेका थिए ।
बुधबार चुनावी प्रचारप्रसारको क्रममा लामिछानेको प्रभाव बलियो मानिने इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाको पालुङ, दामन, टिस्टुङ क्षेत्रमा पराजुलीले कार्यकर्तामाझ मत माग्दै भेला कार्यक्रमसमेत आयोजना गरेका छन् । आफु सभापतिको दाबेदार भएकाले जिल्लाको सबै क्षेत्रका मतदातामाझ पुग्नुकाे लागि उत्तरी क्षेत्रकाे थाहा नगरपालिका र ईन्द्र सराेवर गाँउपालिकालाई पनि समेटेको पराजुलीले बताए ।
सभापतिका प्रत्यासी पराजुलीले बिहीबार बिहान थाहामा कार्यकर्ता भेला कार्यक्रम सम्पन्नपछि हेटौंडा फर्किने र फागुन १३ गते शुक्रबार आफ्नो टीमसहित उम्मेदवारी घोषणा गर्ने जानकारी दिए ।

‘गुटकाे नभइ विचारकाे राजनीति गर्छु’ लामिछाने
मकवानपुर काग्रेसका जिल्ला सभापति पदका प्रत्यासी जयराम लामिछानेले गुटको नभइ विचारको राजनीति गर्ने बताएका छन् ।बुधबार हेटौंडामा प्रजातान्त्रिक एवम् लोकतान्त्रिक बिचार बोकेका बुद्धिजीवि व्यक्तिहरु र शुभेच्छुक संस्थाहरुका प्रतिनिधिसँग छलफल तथा विचार संकलन कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । कार्यक्रममा लामिछानेले कांग्रेसमा विचारकाे राजनीति गर्ने बताउँदै र समृद्ध कांग्रेस सुखी नेपाली बनाउने सम्बन्धमा सहभागीहरुसँग राय सुझाव संकलन समेत गरेका छन् ।
कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय सदस्य ह्याग्रीब आचार्यले अहिलेका कांग्रेसीहरुले विपिको नाम सुनेको तर उनको बिचार र सिद्धान्तहरु अनुसरण नगरेको बताएका छन् । आचार्यले कांग्रेस मकवानपुरले आगामी दिनहरुमा हरेक कांग्रेसीको हातमा विपिको किताब बाढ्नुपर्ने सुझाव दिएका छन् ।
यसैगरी डेमोक्रेटिक लयर्स एसोसिएसन मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले मकवानपुरमा कांग्रेसको स्थापना हुँदा २५ जनाबाट सुरु भएको थियो भने आजको दिनसम्म ७० हजारको हाराहारीमा पुग्दा पार्टीको आकार बढेको तर विचारको आकार भने पहिल्यै जस्तो रहेको बताए ।
त्यसतै वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले पनि मकवानपुरमा कांग्रेसको विकासका लागि आफूले सरसल्लाह, सुझाव र सहयोग सदैव गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा अधिवक्ता कृष्ण प्रसाद छत्कुलीले चुवान अघि हामीलाई भेट्न आउने, चुनावपछि हामीलाई भेट्न नचाहने कांग्रेसको नेताहरुकाे बानी रहेकाे बताए ।
कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल माइकल, कांग्रेस नेतृद्वय उमा दाहाल, रिता खनाल, कांग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीको उपस्तिथि रहेको थियो भने कांग्रेस मकवानपुरका शुभेच्छुक संघसंस्थाहरुका प्रतिनिधिहरुले आफ्नो छोटो धारणा राख्दै लामिछानेलाई जितको लागि शुभकामना समेत व्यक्त गरेका थिए । साथै लामिछानेले रायसुझाव दिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै राय सुझावको अपेक्षा गरेको बताएका छन् ।
हालसम्म सभापतिका उम्मेदवार लामिछानेको प्यानलमा उपसभापतिको लागि आनन्द कठायत, धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक र सहसचिवमा इन्दिरा न्यौपानेले उम्मेदवारी दिइसकेका छन् ।

