मकवानपुर । युक्रेनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन नेपाल सरकारले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो ।
त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरि अत्यावश्यक बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत नेपालीहरुलाई मन्त्रालयले अनुरोध गरेको छ । रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै सचेत हुन समेत आग्रह गरेको छ।
युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरूसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको परराष्ट्रले जनाएको छ । युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिन र मस्कोमा सम्पर्क गर्न सक्ने परराष्ट्रले बताएको छ ।
रुसले युक्रेनबाट अलग हुन संघर्षरत दुई राज्य लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र मुलुकको मान्यता दिएपछि युक्रेनी सीमामा तनाब बढेको छ । युक्रेनबाट अलग भएको घोषणा गरेका यी दुई ओब्लास्ट क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रुसी कदमविरुद्ध पश्चिमा देशहरु छन् । यही तनाबका कारण दुई देशबीच युद्ध हुने आंकलनहरु भइरहेका छन् ।
यसै बीच युक्रेनी संसदले बुधबार यूक्रेनी राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्मा यूक्रेनबाट छुट्टिएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिएको भन्दै १० वर्षका लागि रूसी अधिकारीहरूलाई प्रतिबन्ध लगाउन प्रस्ताव पारित गरेको छ ।
यस प्रस्तावनालाई ४ सय ५० मध्ये ३ सय २२ जना विधायकले समर्थन गरेकाे अन्तराष्ट्रिय संचार संस्था सिन्ह्वाले जनाएकाे छ । प्रस्तावनाको लक्ष्य र उद्देश्यहरू युक्रेनी राष्ट्रिय सुरक्षा र रक्षा परिषद्को निर्णयको लागि आवश्यक कानूनी स्वरूप प्रदान गर्नु हो जुन व्यक्तिगत विशेष आर्थिक तथा अन्य प्रतिबन्धात्मक उपाय घोषणाका लागि मार्गप्रशस्त गर्नु रहेकाे बताइएकाे छ ।

