मकवानपुर । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आज फागुन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो ।
लघुवित्तले निष्काशन गरेकाे कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले जारी पुँजी २६ करोडको ३२.६९ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । सेयरमा कम्तिमा १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ । आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २६ करोड पुग्नेछ।

