मकवानपुर । गत माघ २५ गते देखि फागुन २ गतेसम्म संचालन भएकाे पीपीआर खाेप अभियान कार्यक्रम अन्तरगत बागमती प्रदेशमा ८ लाख ३० हजार १ सय ८७ वटा भेडाबाख्रमा खाेप लगाइएकाे छ । पिपिआर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रममा प्रदेशभरका १३ वटा जिल्लामा उक्त संख्याका भेडाबाख्रामा खोप लगाइएको बागमती प्रदेशकाे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएकाे छ ।
माघ २५ गतेबाट खोप अभियान सञ्चालन भएकाेमा ८ हजार ६ सय ९८ वटा भेडा र ८ लाख २१ हजार ४ सय ८९ वटा बाख्रामा पीपीआर खोप लगाइएको मन्त्रालयले जानकारी दिएकाे छ । पहिलो चरणमा मकवानपुरमा सबैभन्दा धेरै खोप लगाइएको थियाे । मकवानपुरमा १ लाख ६६ हजार ४ सय २३ वटा बाख्रामा खोप लगाइयो छ । नुवाकोटमा १ लाख २० हजार १९ वटा भेडाबाख्रामा खोप लगाइएको हाे । सबैभन्दा कम भक्तपुरमा ६ हजार १८१ वटामा लगाइएको मन्त्रालयका पशुपन्छी विकास महाशाखाका पशु चिकित्सक डा. सृजा वाग्लेले जानकारी दिए ।
पहिलो चरणमा काभ्रेमा ९९ हजार १ सय ८२, दोलखामा ९४ हजार ९ सय ९८, धादिङमा ८३ हजार २ सय ७०, चितवनमा ७१ हजार ४ सय १८, सिन्धुलीमा ४५ हजार ८ सय २५, रामेछापमा ४४ हजार ६ सय १०, काठमाडौंमा ३१ हजार ५ सय ५७, ललितपुरमा २७ हजार ५ सय ८७, रसुवामा २३ हजार १ सय ६५, सिन्धुपाल्चोकमा १५ हजार ९ सय ५२ वटा गरी गरि ८ लाख ३० हजार १ सय ८७ वटा भेडाबाख्रालाई खोप लगाइएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशका दोलखा, काभ्रे, चितवन, नुवाकोट, रसुवा र धादिङ जिल्लामा भने भेडामा पनि खोप लगाइएको छ ।

बागमती प्रदेशका स्थानीय तहका सबै वडाहरुमा खोप भ्याक्सिनेटर परिचालन र खोपकेन्द्र सञ्चालन गरि पहिलो पटक प्रदेश सरकारले खोप अभियान गरेको हो । पहिलो चरणमा १ करोड १९ लाख बजेटबाट ११ लाख ९० हजार खोपको मात्रा खरिद गरी खोप अभियान सुरु गरिएको हो । प्रदेशमा भेडाको संख्या ९३ हजार ६ सय ३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २ सय १७ रहेको मन्त्रालयकाे तथ्याङ्कमा उल्लेख छ ।
पीपीआर खोपको मात्रा ११ लाख ९० हजार भएता पनि १ सातामा ८ लाख ३० हजार १ सय ८७ मात्रा प्रयोग गरिएको छ । भेडाबाख्राहरुमा पीपीआर राेग विरुद्ध एकचोटी खाेप लगाएपछि ३ वर्षसम्म लगाउनु नपर्ने पशु चिकित्सकहरु बताउँछन् ।




