मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा धुलिखेल अस्पतालको शाखा विस्तार गरिने तयारी गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको धुलिखेल अस्पतालका पदाधिकारीहरुसँग मंगलबार अस्पतालमै पुगेर राक्सिराङ गाउँपालिका वडा नम्बर ७ गर्लिङमा शाखा विस्तार सम्वन्धी छलफल गरेका छन् ।
अस्पतालले प्रदान गरिरहेका सेवा सुविधाहरुको बारेमा जानकारी लिँदै राज्यमन्त्री प्रजाले विपन्न चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको मकवानपुरकाे विकट राक्सिराङ गाउँपालिकामा स्वास्थ्य सेवाको आवश्यकताबारे अस्पताल पदाधिकारीहरुसँग छलफल गरेका थिए ।
निकट भविष्यमै चार शैयाको शाखा अस्पताल सञ्चालन गर्नेबारे धुलिखेल अस्पतालका पदाधिकारी सहमत भएको राज्यमन्त्री प्रजाले बताए । प्रजाको पहलमा धुलिखेल अस्पतालले यसअघि दुइपटक गर्लिङको क्षेत्रगत निरीक्षण गरिसकेको छ । राज्यमन्त्रीसँगको छलफल सकारात्मक भएको र निकट भविष्यमै गाउँलेको आवश्यकताको आधारमा स्वास्थ्य सेवा प्रदान गर्ने सोच बनाइएको धुलिखेल अस्पतालका पब्लिक हेल्थ अफिसर सुदिप श्रेष्ठले जानकारी दिए ।
‘स्थानीयको आवश्यकताको पहिचान गरिरहेका छौं । गाउँपालिकासँग पनि छलफल गर्ने तयारी गरेका छौं । जग्गा, भवन, उपकरणलगायत पूर्वाधार तयार गर्न स्थानीय तह र अन्य निकायसँग सहकार्य गरेर अघि बढिनेछ ।’ पब्लिक हेल्थ अफिसर श्रेष्ठले भने ।
गर्लिङमा अस्पताल निर्माण गर्ने सोचका साथ भौतिक पूर्वाधार राज्यमन्त्री प्रजाले पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको ५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका छन् । धुलिखेल अस्पतालले नागरिकको स्वास्थ्य आवश्यकताको पहिचान गर्नुका साथै अन्य अवस्थाबारे जानकारी लिन तत्कालको लागि फागुन मसान्तसम्ममा राक्सिराङमा स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी गरेको जनाएको छ ।
राज्यमन्त्रीसँगको छलफलमा अस्पतालका डाइरेक्टर रामकण्ठ माकाजु, संस्थापक डा राजेन्द्र कोजु, अर्थोपेडिक सर्जन डा. दीपक श्रेष्ठ, क्लिनिकल डाइरेक्टर डा. बलराम मल्ल, सामुदायिक विभाग तथा पब्लिक हेल्थ डाइरेक्टर डा. विराजमान कर्माचार्यलगायतको उपस्थिति रहेको थियो ।
काभ्रेको धुलिखेल नगरपालिका–६ मा रहेको धुलिखेल अस्पतालले हालसम्म देशभर १८ वटा शाखा विस्तार गरी स्वास्थ्य सेवा दिइरहेको अस्पतालले जनाएको छ ।

