मकवानपुर । इमर्जिङ्ग नेपाल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) माघ २६ गते बुधबारबाट निष्काशन तथा बिक्री खुलेकाे छ।
कम्पनीले ५ करोड ५५ लाख ६० हजार रूपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन जारी गरेको हो। कुल ५ लाख ५५ हजार ६ सय कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
सो आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता सय रूपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ।

