मकवानपुर/राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । गृहनगर हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गरी थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष थापाले भने, कठिन परिस्थितीको कारण अप्रिय निर्णय लिन परेको बताए । “अत्यन्त भारी मन र पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु” थापाले भने । यसअघि उनले सोमबार काठमाडौंमा आफू निकट नेताहरूसँग छलफल गरेका थिए । त्यसमा पनि उनले आफू राप्रपाबाट अलग हुने बताएका थिए ।
सोमबार उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई स्थानीय तहको निर्वाचन घोषणा हुनुअघि आफ्ना माग सम्बोधन गर्न समय दिएका थिए । सोमबार नै सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । त्यसको भोलिपल्ट मंगलबार हेटौंडा पुगेर थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । लिङ्देन नेतृत्वको केन्द्रीय कार्यसमितिले आफ्ना माग सम्बोधन नगरेको र पार्टीबाट अलग हुन बाध्य पारेको थापाको भनाइ छ ।

“पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाई नहुने भएपछि मैले यो अप्रिय निर्णइ लिन बाध्य भएको हुँ” थापाले भने । आफ्नो सुझावको सुनुवाई पार्टीमा नभएपछि पार्टीलाई माया गरेर बस्नुको अर्थ नभएको भन्दै उनले आगामी फागुन भरमा नयाँ पार्टी खोल्ने समेत सकेंत गरेका छन् ।

