मकवानपुर । बकैया गाउँपालिकाका ६० जना नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा गाउँपालिकाकाे अध्यक्ष पदकाे प्रत्यासी लक्ष्मी जिम्बासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६० जना गरेका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संघको केन्द्रीय सदस्यसमेत रहेकी जिम्बासहित नवप्रवेशीहरुलाई कांग्रेस केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन् ।
नवप्रवेशीहरुमा राप्रपाका जिल्ला सदस्य अर्जुनप्रसाद तिमल्सिना, राप्रपा बकैयाका सचिव गोवर्धन गौतम, सहसचिव सुदजराज ढकुरी, कोषाध्यक्ष बलराम लामिछाने, गाउँ समिति सदस्यहरु सुवास राई, सोमबहादुर राई, डक्बर बहादुर भोम्जन, रामप्रसाद दाहाल, लक्ष्मण राई, स्यामकुमार राई, कृष्णबहादुर शाही लगायत राप्रपाको महिला, युवा तथा अन्य भातृ संगठनका सदस्यहरु रहेका छन् ।
पार्टी प्रवेश कार्यक्रम सम्बाेधनकाे क्रममा नवप्रवेशीहरुलाई बधाई दिँदै कांग्रेस केन्द्रीय सदस्य डीनाले आसन्न स्थानीय तहको निर्वाचनका लागि तयारीमा जुट्न लागिपर्नुपर्ने बताइन् । उनले भनिन् जनताको बीचमा कांग्रेसका उम्मेदवार निर्वाचित हुने वातावरण बनाउन सबैको भूमिका महत्वपूर्ण हुनेछ ।
त्यस्तै बागमती प्रदेश सभापति बानियाँले नवप्रवेशीहरुलाई पनि विभेद नगरी समान अवसरको वितरण गरिने बताए । उनले जनताको हितमा काम गर्न इच्छा र लगनशीलता देखाउनेलाई कांग्रेसले समान अवसर दिँदै उनीहरुलाई पार्टी तथा देश र जनताप्रति थप जिम्मेवार बनाइने प्रतिवद्धता व्यक्त गरे । बानियाँले राप्रपाका पूर्व केन्द्रीय अध्यक्ष कलम थापाको राजनीतिक भविष्य समाप्त भइसकेको समेत बताएका छन् । उनले भने,‘आफू केन्द्रीत राजनीति गर्ने, म भए हुने नभए नहुने भन्ने स्वार्थबाट ग्रसित मानसिकताले राजनीति चल्दैन ।’
कांग्रेस प्रवेश गरेसँगै नेतृ जिम्बाले आफू जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको र सोही अनुसारको जिम्मेवारी दिन आग्रह गरिन् । कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछाने, प्रवक्ता प्रदीप कोइराला, संघीय सभापति दामोदर खनाल, क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, सचिव भूमिनन्द गौतमलगायतको उपस्थिति रहेको थियो ।

