मकवानपुर । नेकपा एमाले मकवानपुरको ११ औं जिल्ला अधिवेशन हेटौंडामा भइरहेको छ । अधिवेशनको नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले उद्घाटन् गरेका हुन् । शुक्रबार देशभर नेकपा एमालेको जिल्ला अधिवेशन भएकाे हाे । १६ जिल्लाकाे अधिवेशन विविध कारण हुन नसकेकाे नेकपा एमालेले जनाएकाे छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभर एकैसाथ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गरेका छन्
मकवानपुर जिल्ला अधिवेशनलाई शुभकामना दिदै नेकपा एमालेका नेता एवं बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको सत्तागठबन्धन सरकारले कुनै पनि विकास निर्माणको कामहरु गर्न नसक्ने टिप्पणी गरेका छन् ।
अधिवेशनलाई सम्मबोधन गर्दै पुर्व मुख्यमन्त्री पौडेलले नयाँ सरकार बनेको ५ महिना बित्दा पनि कुनै पनि विकासका कामहरुलाई अघि बढाउन नसकेको भन्दै सत्ता गठबन्धन सरकारले काम गर्छ भन्ने अपेक्षा नरहेको बताए । उनले ३ तहको निर्वाचनमा आउँदै गरेको बताउँदै निर्वाचनको लागि तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।
शुक्रबार दिउँसाे हेटाैडाकाे राेयल पार्टी प्यालेसमा भएकाे उद्घाटन सत्रकाे कार्यक्रम सकिएको छ । अब बन्द सत्रकाे कार्यक्रम सुरु हुनेछ । शुक्रबार राती ११ बजे पछी जिल्लाका पदाधिकारी र कमिटीमा सदस्य पदमा उमेदवारी दिनेहरुले उमेदवार दिनसक्ने गरी कार्यतालिका बनाइएको आयाेजक समितिले जनाएकाे छ । एमाले मकवानपुरको ११ औं अधिवेशनबाट नयाँ जिल्ला कमिटी चयन हुनेछ ।
एमाले मकवानपुरको जिल्ला अधिवशेन पुष २३ र २४ गते २ दिन हुनेछ । अधिवशेनको लागि जिल्ला कार्यसमिति, प्रतिनिधि छनोट र मनोनित सहित गरेर ८ सय २ जना प्रतिनिधि रहेका नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले बताए । ९ हजार ५ सय पार्टी सदस्यता रहेको एमाले मकवानपुरको जिल्ला अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव एक अनिवार्य महिला गरेर १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । अधिवेशन अघि एमाले मकवानपुरले सदस्यता संख्याको आधारमा जिल्लाको स्थानीय तहहरुलाई जिल्ला सदस्यको संख्या छुट्याएको छ । कमिटीमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १० जना जिल्ला सदस्यमा चयन हुने छन् । ६ जना खुल्लाबाट र ४ जना महिला अनिवार्य छन् ।

यसैगरि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका र पूर्वमा पर्ने बकैया गाउँपालिका भित्रबाट ६/६ जना चयन हुने छन् । जसमा ४ जना खुल्लाबाट र २ जना महिला अनिवार्य रहेको छ । यस्तै जिल्ला सदस्यमा जिल्लाको मनहरी, कैलाश, बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिकाबाट ५/५ जना चयन हुने छन् । जसमा खुल्लाबाट ४/४ जना र महिला अनिवार्य एकएक चयन हुने भएका छन् मकवानपुरगढी र ईन्द्रसरोबर गाउँपालिका भित्रबाट क्रमशः ४ जना र ३ जना चयन हुने भएका हुन् । जसमा १/१ जना महिला अनिर्वाय रहेको सचिब श्रेष्ठले बताए ।
यसैगरि,जिल्ला कमिटीमा मजदुरबाट ४ जना खुल्ला र १ जना महिला गरेर ५ जना,पेशागतबाट १ जना खुल्ला र १ जना महिला गरेर २ जना, दलितबाट २ जना खुल्ला र १ जना महिला गरेर ३ जना, जनजाती, मुस्लिम र अल्पसंख्यकबाट ४ जना खुल्ला २ जना महिला गरेर ६ जना,अन्यबाट खुल्ला १६ जना र महिला खुल्ला १४ जना गरेर १ सय ५ जनाको जिल्ला कमिटी चयन हुने एमाले मकवानपुरले जनाएको छ । १ सय ५ सदस्सीय कमिटीमा एमाले मकवानपुरले ३३ प्रतिशत महिला सदस्यताको सुनिश्चिता गरेको नेकपा एमाले मकवानपुरका सचिब श्रेष्ठले बताए ।
गएको मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठले आजका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो ।
एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा चुनाव गर्न एमालेले सर्कुलर गरेको छ ।

