मकवानपुर । हेटौंडामा शुक्रबार ५४ जनाले गरे रक्तदान गरेका छन् । हेटाैडाकाे २ स्थानमा २ संस्थाले गरेकाे रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रमबाट ५४ युनिट रगत संकलन भएको रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएको छ ।
केन्द्रका अनुसार, हेटौंडा–४ स्थित छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजना भएको कार्यक्रममा २९ जनाले र हेटौंडा–९ स्थित दुगड ग्रुपकाे आयोजनामा भएको कार्यक्रममा २५ जनाले रक्तदान गर्दा ५४ युनिट रगत संकलन भएको हो ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा तथा छिमेक कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेकाे हाे ।
यसैगरी एम भि दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औं जन्म दिनको अवसरमा ग्रुपको दुगड अटो क्लिनिक हेटौंडाको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।
हेटौंडाको औद्योगिक क्षेत्रमा रहेको दुगड अटो क्लिनकको प्राङगणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।
त्यस्तै हेटौंडाको औद्योगिक क्षेत्रमा रहेको पानी ट्याङकी अगाडिको सडकबाट दायाँबायाँ क्षेत्रमा बृक्षारोपण गरिएको छ । कपुर र तेजपात जातका २ सय ५ बटा बिरुवाहरु रोपण गरिएको हो । कार्यक्रममा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक राजेन्द्र कडेल लगायतकाको सहभागिता रहेको थियो ।

यस्तै, शुक्रबार नै भएको निःशुल्क दन्त शिविर तथा सुगर–प्रेसर जाँच कार्यक्रममा १ सय ३४ जनाले सेवा लिएका छन् । समृद्ध नेपालको लागि नयाँ पाइला संस्थाले हेटौंडाको बुद्धचोकमा आयोजना गरेको उक्त कार्यक्रममा १ सय ३४ जनाले सेवा लिएका हुन् । जसमा ८२ जनाले दन्त सम्बन्धी र १ सय ५२ जनाले सुगर-प्रेसर सम्बन्धी निःशुल्क सेवा लिएका हुन् ।
शिविरको उद्घाटन कार्यक्रम समृद्ध नेपालका लागि नयाँ पाइलाका उपध्यक्ष निश्कर्ष लामाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यमा भएको थियो । उज्ज्वल डेन्टल केयर एण्ड अर्थोडेण्टीस सेन्टर र डाइनामिक सर्जिकल हाउसले शिविरको आयोजनाका लागि सहयोग गरेको हो ।


