मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनलाई पक्राउ गरेको छ । विहीबार मनहरी गाउँपालिका वडा नम्वर ९ स्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डबाट लागूऔषध गाँजा ४५ किलोसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा नम्वर २ बस्ने ४२ वर्षीय भक्तबहादुर थापा मगर र मनहरी गाउँपालिका वडा नम्वर ५ बस्ने ४१ वर्षीय हिरालाल गुरुङ्गलाई गाँजा सहित पक्राउ गरेकाे हाे ।
दिउँसो शंकास्पद रुपमा पिढ्युमा भारी बोकी हिडिरहेका उनीहरुलाई रोकी चेकजाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।

