मकवानपुर । नेकपा एमाले मकवानपुर सहित ७७ जिल्लाकाे अधिवेशन पुष २३ गते शुक्रबारबाट हुने भएकाे छ । पुस २३ र २४ गते हुने देशभर हुने जिल्ला अधिवेशन अन्तर्गत मकवानपुर जिल्लाकाे पनि अधिवेशन हुने भएको हाे ।
विहीबार हेटौंडा-५ स्थित एमाले पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै एमाले मकवानपुरको प्रचार विभाग प्रमुख नविन सिग्देलले पुष २३ र २४ गते हुने अधिवेशनको जानकारी दिए ।
उनले अधिवेशनको लागि जिल्लाभरबाट जिल्ला कार्यसमिति,प्रतिनिधि छनोट र मनोनित सहित गरेर ८ सय २ जना प्रतिनिधि रहेको बताए । उनले अधिवेशनको लागि १० उपसमितिहरु निर्माण गरेर काम भईरहेको र भोलि बिहान सम्म सम्पूर्ण तयारी पुरा हुने बताए । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरेर १ सय ५ सदस्सीय जिल्ला कमिटी निर्माण गर्ने बताए । उनले सर्वसम्मतको तयारी भईरहेको र सर्वसम्मत नभए निर्वाचनको माध्यमबाट अधिवेशन सम्पन्न हुने उनले बताए ।
यसै बीच एमाले अध्यक्ष केपी ओलीले पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभागले जनाएकाे छ। एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उदघाटन हुन लागेको हो ।

