मकवानपुर /भेटेरेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र हेटौंडाले मकवानपुरका ३ जना कृषकलाई जिल्ला स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरेको छ ।
केन्द्रले कृषि क्षेत्रमा अनरवत योगदान गरेकोमा जिल्लाको थाहा नगरपालिका –४ थाहा पाैरखी कृषी प्रालीकी बरी बल, मनहरी गाउँपालिका–४ खड्का बहुउद्देशीय कृषी फार्म कम्पनी प्रालीका पवन खड्का र हेटौंडा उपमहानरपालिका–३ का सिमलथली उन्नत बाख्रा उत्पादन फार्मका गोबिन्द प्रसाद सुवेदीलाई नगद सहित सम्मान गरेको हो ।

केन्द्रले सोमबार आयोजना गरेको स्थानीय तहमा पशु सेवा शाखा प्रमुख एवम् प्रतिनिधिहरूसँग चौमासिक प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो । सुवेदी बाख्रा पालक किसान हुन् भने खड्का माछा पालक किसान हुन् । यसैगरी बल किबी खेती गर्दै आएकी छन् ।
किबि खेती गर्दै आएकी थाहा नगरपालिका – ४ कि बलले ६ प्रजातीका ४ हजार बोट किबि लगाउंदै आएको र पर्याप्त बजारीकरणको अभावमा थप परिकार बनाउने तयारीमा लागेको बलले बताइन् । असिनाको कारण किबिमा क्षति बढी भएको र बाली बीमा गर्न नसकेको कारण समस्या भएको उनले बताइन् । यसैगरी माछा पालक किसानले आफ्नो व्यवसायलाई पर्यटनसँग जोडेर अगाडी बढाउने गरी लगानी बढाउँदै लागेको बताए ।

यसैगरी बाख्रा पालक किसान सुवेदीले आफूहरुले बाख्रा पालन थालेपछि आफ्नो वरपर समुदायमा रहेका निम्न आयस्तरको किसानहरुलाई समेत व्यवसायिक बन्नको लागि सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा विज्ञ केन्द्रका प्रमुख सुशिल केसीले केन्द्रको चौमासिक प्रगति विवरण प्रस्तुत गरेका थिए । गाेष्ठीका केन्द्रका पशु विकास अधिकृत ध्रब डिसी, लेखा शाखा प्रमुख बिनिता सिंह, सहायत स्तर पाँचाै प्रदीप सापकाेटा, विभिन्न स्थानीय तहहरुकाे पशु शाखा प्रमुखहरुकाे उपस्थिति रहेकाे थियाे ।
यसैगरी सोही कार्यक्रममा जिल्लाको विभिन्न स्थानीयमा पशु सेवा शाखाको जिम्मेवारीमा रहेका प्रमुखहरुलाई पशुसेवा बारे समसामयिक जानकारी प्रदान गरिएको थियो । पशुलाई लगाइने आदर्श खोपमा हुनुपर्ने गुणलगायतको बारेमा केन्द्रका पशु डाक्टर ब्रज किशोर ठाकुरले जानकारी गराएका थिए ।

छोटो समयमै प्रतिरोध गर्ने शक्ति उत्पन्न गर्ने गुण हुनुपर्ने, उचित तापक्रम व्यवस्थापन गर्ने, तरल खोप लगाउने तरिका, खोप स्थानान्तरण गर्दा वातावरण सन्तुलन गर्ने बारे पशु चिकित्सक डा ठाकुरले जानकारी गराएका थिए ।

