मकवानपुर । सत्ता साझेदार गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाएकाे छ ।
पाँच दलीय गठबन्धनकाे साेमबार बिहान बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभामा रिक्त हुने सिटहरुमा आगामी १२ माघमा हुने निर्वाचनकाे लागि भागबण्डामा उम्मेदवार उठाउने निर्णय गरेको हो । सोमबार बिहानदेखि प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेको बैठककाे निर्णय अनुसार नेपाली कांग्रेसले ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।
राष्ट्रियसभामा नेकपा एमालेकाे ८, कांग्रेसकाे ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ स्थान रिक्त हुँदैछ । सत्ता गठबन्धनमा भागबण्डा मिलेसँगै एमालेले आफ्नो ८ सीट जोगाउनुपर्ने चुनौती छ । पाँचै दल एक ठाउँमा मिल्दा प्रदेश १ बाहेकका स्थानमा एमालेका लागि संकट रहनेछ ।
राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।

