मकवानपुर /हाम्रो आवाज मानव बेचबिखनबाट मुक्त समाज भन्ने नाराका साथ माइती नेपाल मकवानपुरले आयोजना गरेको नेतृत्व बिकास, सिलाइ कटाई तथा जीवन कलाको सीप सिकाई कक्षामा सहभागी किशोरीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा ४ का अध्यक्ष नवीन सिग्देलले सामाजिक अभियानमा सकृय हुन, आर्थिक सशक्तीकरण सहित किशोरीहरू सक्षम हुनुपर्ने बताए । प्रविधिको प्रयोग गर्दै उत्पादनमा जोडिएर आफूलाई सक्षम बनाउन अध्यक्ष सिग्देलले सहभागीलाई आग्रह गरे । ‘आफ्नो क्षेत्रमा अब्बल बनेर उदाहरणीय बन्नुहोस’ सिग्देलले भने । तालीमले किशोरीलाई बेचबिखन, हिंसा जस्ता घटनाबाट बच्न टेवा पुग्ने सिग्देलले बताए ।
कार्यक्रममा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सन्जाल अध्यक्ष आरती पाठक सिकेको सिपलाई व्यवहारमा उतारेर आर्थिक रूपमा सम्पन्न जीवन बिताउन शुभकामना दिइन् । लगाव राखेर सिक्नेले जीवन निर्वाहमा धेरै सकारात्मक फड्को मार्न सक्ने पाठकले बताइन् ।
सिलाइसँगै जीवनपयोगी सीप सिके, महिला भएको कारण हिनताबोध हैन, अवसरको ढोका खुलेको आभास भएको तालिममा सहभागी मन्जु लामाले बताइन् । सिकेको सिपलाई व्यवहारमा उतारेर अरूको लागि पनि उदाहरणीय बन्ने गरि समाजमा नेतृत्व गर्ने उत्साह आफूमा रहेको उनले बताइन् ।
माइती नेपालले उनीहरूलाई ४ महिने आवासीय तालीम दिएको थियो । बिगतमा पनि यस्तै तालिमहरू दिने गरेको र यो ४३ औं समूहको सहभागीलाई दक्ष बनाएर बिदाइ गरिएको माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया लामाले बताइन् । उनीहरूलाई सिलाईको १७ वटा आईटम सहीत जीवनपयोगी १० वटा सीप बारे प्रशिक्षित गरिएको उनले बताइन् ।
कार्यक्रम साना हातहरू नेपालका दिकम्बर रुपाचा, हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाईबा, माइती नेपाल फिल्ड सुपरभाइजर मन लामा, प्रशिक्षक सरिता तामाङलगायतको उपस्थिति रहेको थियो । सहभागीलाई अघिल्लो प्रशिक्षण समुहमा सहभागी सुनिता भुलुनले सहजीकरण गरेकी थिइन् ।
In: महिला/बालबालिका खबर, स्थानीय खबर/समाज
Tags: No Comments

