मकवानपुर / हिंसाको सवाल महिलाको मात्रै नभई सिङ्गो समाज र राष्ट्रिय सवाल भएको नेकपा एमाले केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रिय सचिवालय सदस्य जुनेली श्रेष्ठले बताएकी छन् ।
बागमती प्रदेशको पूर्व सामाजिक विकास राज्यमन्त्री श्रेष्ठले हिंसा उन्मुलनमा व्यक्ति व्यक्ति सचेत हुनुपर्ने बताइन् । “जहाँ हिंसा हुन्छ त्यहाँ अनेमसंघ पुग्नुपर्छ” श्रेष्ठले भनिन् “सबै बर्ग र समूदायको हिंसा विरुद्ध अनेमसंघ बोल्नुपर्छ ।”
अखिल नेपाल महिला संघ जिल्ला कमिटी मकवानपुरले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा आयोजना गरेको १ दिवसीय सचेतना कार्यक्रममा श्रेष्ठले यस्तो बताएकी हुन् । महिला, बालबालिका, ज्येष्ठ नागरिकमाथि हुने हिंसाको विरुद्ध न्यायको लडाईमा लागि पर्न श्रेष्ठले आग्रह गरिन । हिंसा गर्नेलाई नेकपा एमालेले कुनै पनि रूपमा संरक्षण नगर्ने उनले बताइन् ।
कार्यक्रम अनेमसंघ केन्द्रिय कमिटी सचिवालय सदस्य तथा मकवानपुर इन्चार्ज पद्मा पौडेलले हिंसा विरुद्धको अभियानपछि धेरै उपलब्धि भएको भए पनि ती उपलब्धि संस्थागत गर्न चुनौती रहेको बताइन् । “अनेमसंघको अभियान महिला माथिको हिंसा मात्रै हैन, मानव माथीको हिंसा विरुद्ध हो” पौडेलले भनिन् । अनेमसंघले २० बर्षदेखी यो अभियान जारी राखेको उनले बताइन् । हिंसा रोक्नको लागि कानुन बनाउने र कार्यान्वयन तहमा महिला पुग्नुपर्ने बताइन् ।
कार्यक्रम पार्टी जिल्ला अध्यक्ष बद्री लम्सालले हिंसाको सवाल महिलाको मात्रै नभई समाजले चासो राख्नुपर्ने सवाल भएको बताए । सचेत बर्गले आफू आवद्ध समुदाय समूह सन्जालमा सम्प्रेषण गरेर हिंसाको रूपहरू समाप्त गर्नेपर्ने अध्यक्ष लम्सालले बताए । हिंसाको उन्मुलन गर्न हिंसाको कारण पत्ता लगाएर उपचार विधि अवलम्बन गर्नुपर्ने उनले बताए । बिभेदयुक्त समाज समाजवाद उन्मुख हुन नसक्ने उनले बताए ।
यसैगरी पार्टी जिल्ला सचिब एकालाल श्रेष्ठले हिंसा मुक्त भएमात्र समाजवाद अगाडि बढाउन सकिने बताए । “समाज विकाससंगै नयाँ नयाँ समस्या जन्मनु स्वभाविक हो, त्यस्तो समस्या अन्त्यको लागि सामाजिक नेतृत्वले लागि पर्नु पर्छ” श्रेष्ठले भने “समाजमा बिबिधिकरणयुक्त समस्या हुन्छ, लैङ्गक,सामाजिक, मानसिक हिंसा सबैको अन्त्यको लागि संविधानमा व्यवस्था गरिएको छ ।” संविधान, ऐन कानुनी रूपमा महिला सहभागीता, निर्णयमा महिलाको उपस्थिति बारे गरेको व्यवस्था जानकारी उनले गराए ।
कार्यक्रम अनेमसंघ जिल्ला अध्यक्ष सुमित्रा काफ्लेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अध्यक्ष काफ्लेले अध्ययन अनुसन्धान गरेर क्षमता अभिवृद्धि गर्दै हिंसा विरुद्धको नेतृत्वमा लाग्नुपर्ने बताइन् । हिंसाको विरुद्ध अनेमसंघ सधै तत्पर रहेको उनले बताइन् । संगठनले स्थापनाकालदेखि नै सामाजिक न्यायको लडाइँलाई आत्मसात गर्दै आएको काफ्लेले बताइन् । जिल्लाको सबै पालिकामा कमिटी बनेको र हिंसा विरुद्ध न्यायको खातिर लागिपरेको उनले बताइन् । अनेमसंघले जिल्लाको सबै पालिकामा लैङ्गिक हिंसा विरुद्धको अभियानमा सचेतना कार्यक्रम गर्ने काफ्लेले बताइन् ।
अनेमसंघले हिंसा विरुद्धको अभियान बर्षैभरी विभिन्न रूपमा जारी राखेकोले कुनै पनि प्रकारको हिंसा सहेर नबस्न र सम्बन्धित निकायमा उजुरी गर्न अनेमसंघ जिल्ला सचिब साधना श्रेष्ठले अनुरोध गरिन ।
In: महिला/बालबालिका खबर, मुख्य खबर, स्थानीय खबर/समाज
Tags: No Comments

