मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ बिजयी भएका छन् ।
दोस्रो चरणको मतदानमा बानियाँले अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीलाई १५८ मत अन्तरमा पराजित गरेका हुन् । दुइ हजार २५ खसेको मत मध्ये बानियाँले एक हजार ८५ मत प्राप्त गरे भने केसीले ९२७ मत प्राप्त गरेका छन् । १३ वटा मत बदर भएको थियो। बानियाँले यसपटक भने ५३ प्रतिशत मत ल्याएका छन् ।
पहिलो चरणमा पार्टीको विधान अनुरुप ५१ प्रतिशत मतसंख्या नपुगेपछि दोस्रो चरणको मतदान आइतबार दिउँसोबाट भएको थियो । संस्थापन पक्षबाट उम्मेदवारी दिएका बानियाँ र पौडेल समूहका उम्मेदवार केसीबीच प्रतिस्पर्धा भएको हो ।
पहिलो चरणमा बानियाँले ९९२ मत प्राप्त गरेका थिए भने केसीले ८७२ मत प्राप्त गरेका थिए । सिटौला समूहका उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेका थिए । सोही मत दुईतिर बाडिएको मत अंकले देखाएको छ ।
बागमती प्रदेशमा केन्द्रीय महाधिवेसन प्रतिनिधि ८७६ जना, प्रदेश प्रतिनिधि १२४५ जना र केन्द्रीय सदस्य १६ जना, शुभेच्छुक संघ/संस्था गरी दुई हजार १५१ जना मतदाता रहेका थिए । जसमध्ये हिजोको दोस्रो मतदानमा २ हजार २५ मत खसेको थियो । प्रदेश समितिको अन्य पदाधिकारी र सदस्यहरूको भने मतगणना आज गरिने बताईएको छ ।बानियाँले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धा लोकतन्त्रको एउटा राम्रो अभ्यास मात्र भएको भन्दै यसमा कसैको जीत र कसैको हार नभएको प्रतिक्रिया दिए ।
In: प्रदेश, मुख्य खबर, राजनीति
Tags: No Comments

