मकवानपुर । मनहरी गाउँपालिकामा मनहरीमा बालश्रम सम्बन्धी अनुगमन गरिएकाे छ । गाँउपालिकामा रहेका होटल, ग्यारेज, गाडि सफा गर्ने स्थानमा बालश्रम प्रयोग भए नभएको सम्बन्धमा अनुगमन गरिएकाे हाे ।
बालअधिकार समिति, श्रम कार्यालय, नेपाल प्रहरी, बालहेल्पलाइन १०९८ ले संयुक्तरुपमा अनुगमन गरेका हुन् ।मनहरी क्षेत्रका विभिन्न ब्यवसाय, होटल आदिमा बालश्रमिक भएको जानकारी बालहेल्पलाइन १०९८ र गाउँपालिकामा आए पछि अनुगमन गरिएको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टले जानकारी दिए ।
अनुगमनका क्रममा मनहरी ९ को चौधमाइलमा गाडि धुनेकाममा १२ र १३ वर्षका ४ जना बालक, मनहरी ८ मा रहेकाे गुरुङ् होटलमा १० वर्षिय १ जना बालक, सुप्रिय होटलमा काम गर्ने १ जना १२ वर्षिय बालिका, सिम्पानी स्थित मोटरबाइक ग्यारेजमा काम गर्ने १३ र १४ वर्षिय ४ जना बालक गरि जम्मा १० जना बालश्रमिक फेला परेको मनहरी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख शान्ति अधिकारीले बताइन् ।
विभिन्न स्थानहरुमा बालश्रमिक रहेका बालहेल्पलाइनमा सूचना आएको तर अनुगमनको क्रममा फेला नपरेको बालहेल्पलाइन जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले बताए । अनुगमन टोली आएको सूचना प्राप्त भए पछि बालश्रमिकहरुलाई लुकाईको हुनसक्ने ज्ञवालीले जानकारी दिए । श्रममा संमलग्न बालबालिकाहरु ९ जना मनहरीका र १ जना कैलाश गाउँपालिकाका रहेका जनाइएको छ ।
अनुगमन गरिएका स्थानहरुका बालबालिकाको सम्बन्धमा एक हप्ता भित्रमा सबै बालबालिकालाई अभिभावकको जिम्मा लगाउने र बालबालिकालाइ दिनु पर्ने पारिश्रमिक भुक्तानी गरिसक्नु पर्ने र सो को जानकारी गाउँपालिकालाइ दिनु पर्ने गरी सचेत गराइएकाे छ । यसै गरी १४ वर्ष मुनिका बालबालिकाहरुलाइ निकृष्ट प्रकारको बालश्रममा प्रयोग नगर्न, १४ देखि १८ उमेर वर्षसम्मका बालबालिकाहरुलाइ जोखिमपूर्ण बाहेक अन्य काम लगाउनु परेमा श्रम कार्यालयकाको स्विकृति लिएर मात्र लगाउने गरि समेत सचेत बनाइएको श्रम कार्यालयका प्रतिनिधि भिम प्रसाद शर्माले बताए ।

