मकवानपुर/नेपाल कम्युनिष्ट पार्टी एमाले १० औं महाधिवेशनको मिति नजिकीदै गर्दा यसको प्रचार प्रसारले तिव्रता पाएको छ ।
बागमती प्रदेशको चितवनमा महाधिवेशन हुने तयारी भएपछि छिमेकी जिल्ला मकवानपुरमा तयारीको रौनक छाएको हो । मकवानपुरले पार्टीको १० औं महाधिवेशन लक्ष्यित प्रचारप्रसारको लागि मंगलबार हेटौंडामा मोटरसाइकल र्याली गरेको छ ।
एमालेको चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनको जानकारी दिन हेटौडामा ७ सयभन्दा बढी मोटरसाइकलसहितको -याली गरेको पार्टी महाधिवेशनको मकवानपुर प्रचार प्रमुख नविन सिग्देलले जानकारी दिए ।
हेटौंडाको हुप्राचौरबाट सुरूभएको मोटरसाइकल र्याली मेनरोड, एचआईडी क्षेत्र, गौरीटार रंगशाला, चौघडा, कान्तिराजपथ, मानस चोक, चौकिटोल, बुद्धचोक, राप्तिरोड, वाइपास, टिसियन रोड हुँदै सीमा चोकमा समापन गरिएको थियो ।
चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा मकवानपुर जिल्लाबाट ३५ हजार कार्यकर्ता सहभागी हुने सिग्देलले बताए । महाधिवेशनको लागी झण्डै १० हजार संगठित सदस्यसहित ३५ हजार कार्यकर्ता २ हजार मोटरसाइकल, ५ सय साना सवारी र २ सय वटा बसमा चितवन जाने कार्यक्रम रहेको उनले बताए । यसको लागि एमाले मकवानपुरले १० वटै स्थानीय तहमा निर्देशन गरिसकेको र विभिन्न कामको समेत जिम्मेवारी बाँडफाँड गरिसकेको छ ।
महाधिवेशनमा विदेशीहरु पनि आउने भएकोले मकवानपुरले आफ्नो पहिचान सहितको सांस्कृतिक झल्को दिने पञ्चे बाजा, नौमति बाजा, धिमे बाजा, तामाङ बाजा, कौडा नित्य, चेपाङ झाकी, खैजडी, न्याउलि बाजालगायतको प्रदर्शन गर्ने व्यवस्था मिलाएको अखिल नेपाल महिला संघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्लेले बताइन् ।
महाधिवेशनमा सहभागि हुन तथा जनपरिचालन गर्न जिल्ला अध्यक्ष बद्रि लम्सालको संयोजक र सचिव एकलाल श्रेष्ठ रहेको २ हजार १ सय सदस्यीय जनपरिचालन समिति गठन गरिएको छ ।
यस्तै गोपाल श्रेष्ठको संयोजनमा रहने गरी आर्थिक समिति निर्माण गरिएको छ । १० औं महाधिवेशनमा मकवानपुरबाट सहभागी हुन एमालेको २२ वटा जनवर्गिय संगठन चुस्त बनाइएको छ । चितवनमा हुने अधिवेशनमा मकवानपुरको केही नेताले केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवार दिने तयारी समेत गरेका छन् ।



