मकवानपुर/बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले किशोरी तथा महिलामाथि हुने सबैखाले हिंसाको खुलेर प्रतिकार गर्न युवाहरुलाई आग्रह गरेकी छन् ।
प्रदेश युवा परिषदले हेटौंडामा आयोजना गरेको आत्मरक्षासम्बन्धि दुइदिने तालिमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले किशोरीहरुले हिंसा सहने होइन हिंसाको प्रतिकार गर्ने बानिको विकास गर्नुपर्ने बताइन् ।
वर्तमान समयमा बलात्कार, हिंसालगायतको घटनाहरु बढ्दै गएको प्रति उनले चिन्ता प्रकट गरिन् । महिला तथा किशोरीमाथी हुने त्यस्ता घटना न्युनिकरणमा महिला आत्मरक्षा तालिमले पनि केही हदसम्म सहयोग गर्ने बताउदै प्रदेश सरकारले स्थानियतहरुसंग समवन्य गरि सबै पालिकामा तालिम संचालन गर्ने जानकारी गराइन् । महिलाहरु अझै पनि पुरुषहरुको तुलनामा पछाडि परेकोले उनीहरुको क्षमता अभिवृद्धी गदै नेतुत्वदायी भूमिकामा ल्याउन सबै मिलेर अघि बढ्नुपर्ने बताइन् ।

कार्यक्रममा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवा परिषद ५० प्रतिशत महिला सहभागिता सुनुश्चितता गराउने एकमात्र कार्यालय भएकाले कार्यालयले पहिलो कार्यक्रम नै महिला किशोरी लक्ष्यित गरि आयोजना गरेको बताए ।
राज्यले युवाहरुको निम्ती हरेक बर्ष राम्रा कार्यक्रमहरु ल्याउने गरेता पनि युवा र सरकारबीच समवन्यको अभाव हुदाँ सोचे अनुसार कामहरु हुन नसकेको उपाध्यक्ष चौलागाईंले बताए । त्यस्ता समस्याहरुलाई चिर्दे अघि बढ्न र युवाहरुको क्षमताको पहिचान सहित युवालाई उत्पादनसंग जोड्नको निम्ती प्रदेश युवा परिषद गठन भईसकेकाले अब प्रदेश युवा परिषद युवाहरुको विकासको लागी विषेश कार्यक्रममा साथ योजनावद्ध किसिमले अघि बढने बताए ।

यसैगरी जिल्ला युवा समितीका अध्यक्ष शिवहरि दहालले युवाहरु देश मेरुदण्डको रुपमा रहेको हुनाले युवाहरुको लागी सरकारले विशेष कार्यक्रमहरु ल्याएको बताए । कार्यक्रममा जिल्लाका १० वटा स्थानिय तहका २२ जना किशोरीहरुको सहभागिता रहेको छ । उनीहरुलाई नेपाल सेल्फ डिफेन्स मार्सलआर्ट्स अर्गनाइजेसनका प्रशिक्षकहरु भगवती अधिकारी र राधिका हमालले आत्मरक्षा उपायबारे प्रयोगात्मक विधिहरु सिकाउने छन् ।

