मकवानपुर । हेटाैडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ हनुमानगेट नजिकै बाेलेराे गाडीले माेटरसाइकललाई ठक्कर दिंदा कैलाश गाँउपालिका ४ कालिकाटारका अवबरल रिजालकाे ज्यान गएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
पथलैयाबाट हेटौंडातर्फ आइरहेको ना ३ च ११९३ नम्वरको बाेलेरो गाडीले राति १२ः४५ बजेको समयमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ३४ प ६०४४ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट मोटरसाइकल चालक कैलाश गाउँपालिका वडा नम्वर ४ कालिकाटार निवासी २४ बर्षीय रिजाल घाइते भएका थिए ।
घाइते रिजाललाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । मृतक रिजालको शव पोष्ट मार्टमको लागि अस्पतालको शव गृहमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

