मकवानपुर । नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन आज विजया दशमी पर्व मनाइदैछ । बडा दशैको मुख्य दिन, देवी दुर्गा भवानीके प्रसाद टीका र जमरा लगाइ हर्षोल्लासपूर्वक मनाइने गरिन्छ ।
मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गर्नु विजया दशमीकाे विशेषता हो ।
घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका सुरु हुन्छ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ । यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ ।
घटस्थापनाको दिनमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाए पछि आफ्ना मान्यजनहरुबाट नव दुर्गा भवानीको प्रसादको रुपमा टिका र जमरा लगाउने चलन रहेको छ ।
समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । मान्यजनको हातबाट दशैंको टीका लगाउन देश विदेशबाट समेत मानिसहरु आफ्नो गाउँघरमा पुग्ने गर्दछन् । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ ।
दशैंको टिकामा अन्य फुलको प्रयोग गरिदैन । दशैंको टिकासंगै सम्बृद्धिको प्रतिको रुपमा मानिएको जमराको नै प्रयोग गर्ने धार्मिक प्रचलन रहेको छ । आजबाट शुरु भएको दशैंको टिका ५ दिन सम्म चल्ने छ । कोजाग्रत पुर्णिमाको दिन बिधिवत रुपमा टिका समापन गरि दशैं बिदा गर्ने पौराणिक प्रचलन रहेको छ ।
विजयादशमीको दिन देवी विसर्जनको साइत बिहान ८ बजेर १९ मिनेटमा रहेको छ । जमरा र टीका देवी दूर्गालाई चढाएपछी टिकाको उत्तम साइत १० बजेर २ मिनेटमा रहेको छ । आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहण गर्दा पनि शुभ हुने जनाइएको छ ।

