मकवानपुर । बडादशैं अन्तर्गत विजया दशमीमा लगाइने टीकाको उत्तम साइत शुक्रबार विहान १० बजेर २ मिनेटमा रहेको छ । विजया दशमी पनि भनिने दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ ।
घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई दशैंको टीकाको दिन बिहान ८ बजेर १९ मिनेटमा विसर्जन गरिने साइत रहेको छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेहरुका लागि बिहान १० बजेर २ मिनेटकोसाइत शुभ रहेको भएपनि दिनभरीनै टिका लगाउँन सकिने पञ्चाङ निर्णायक समितिले जनाएकाे छ ।
यसैगरी टीका लगाउने मानिस पूर्व र लगाईदिने मानिस पश्चिम फर्किएर टिका लगाउने तथा अाशिर्वाद लिने गर्दा राम्राे मानिन्छ । टीका र जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लगाउने प्रचलन छ । कसैकसैले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म र कसैले विजया दशमीको दिनमात्र टीका लगाउने गर्दछन् ।

