मकवानपुर । राष्ट्रिय बाल दिवसको अवसरमा जिम्मेवार अभिभावक विषयमा निबन्ध लेखन प्रतियाेगिता भएकाे छ ५७ औं बाल दिवसकाे अवसरमा जेसीआई हेटौंडा लेडीको आयोजनामा निबन्ध प्रतियोगिता तथा प्रस्तुती कार्यक्रम भएको हो ।
हेटौंडामा भएकाे प्रतियोगितामा ९ जना प्रतियोेगीहरुकाे सहभागिता रहेको थियो । बाल दिवसमा बालबालिकालाई नै सहभागी गराई कार्यक्रमको आयोजना गरिने परम्परा विपरित जेसीआई हेटौंडा लेडीले बालबालिकाको हकअधिकार सुनिश्चित गर्न, बालबालिकाको उचित स्याहार, पालनपोषणमा अभिभावकको अनुभव तथा प्रयासलाई प्रस्तुत गर्ने गरी निबन्ध प्रतियोगिताको आयोजना गरिएको जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले बताईन् ।
प्रतियोगितामा सहभागीले बाल अधिकार, बालबालिकाको स्याहारमा अभिभावकको भूमिका र आफूले गर्दै आएको अभ्यासबारे व्याख्या गरेका थिए । अस्मिता नेपालको समन्वयमा भएको प्रतियोगितामा भावना रिजाल प्रथम भएकी छिन् । यसैगरी राम मिजार द्वितीय भएका छन् । शशिता दंगाल तृतीय भएकी थिइन् ।
प्रथम, द्वितीय र तृतीय हुने प्रतियाेगीले प्रमाणपत्रसहित क्रमशः २ हजार ५ सय, २ हजार र १ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरेका छन् । अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले अभिभावकबीच आयोजना गरिएको प्रतियोगिता नौलो र उपलब्धीमूलक भएको बताईन् ।
जेसीआई हेटौंडा लेडीकी सदस्य इन्दिरा बानियाँको संयोजकत्व तथा बागमती प्रदेशको बालअधिकार समितिका सदस्य झविन्द्र ज्ञवालीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । ज्ञवालीले बालबालिकालाई गरेको माया अभिभावकले फिर्ता पाउँछन् भन्ने महत्वपूर्ण अभिव्यक्ति सिक्ने अवसर प्राप्त भएको बताए ।
निबन्ध प्रतियोगिताको निर्णायकमा साहित्य संगम मकवानपुरकी उपाध्यक्ष अनिता न्यौपाने र हेटौंडा–१, चौकीटोलस्थित अमर माविकी शिक्षक खगिन्द्र शर्मा रहनुभएको थियो ।

