मकवानपुर । महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले विहीबार २१ औं वार्षिक साधारणसभा गरेको छ । हेटाैडा १३ मा रहेकाे सहकारी संस्थाकाे साधारणसभा हेटाैडा उपमहनागरपालिकाकी उप प्रमुख मिना कुमारी लामाले गरेकी थिइन् ।
साधारसभा उद्घाटन गर्दै उनले सहकारीले महिलाहरुलाई उत्पादनसँग जोडेर काम गर्नुपर्ने बताईन्। महिलाहरुको ठुलो नेतृत्व गरेको सहकारी भोलिका दिनमा राष्ट्रिय स्तरको सहकारी बन्न सक्ने समेत उनले शुभेच्छा व्यक्त गरिन् ।
हाल सहकारीको ५२ सय ७८ शेयर सदस्य रहेका छन् । सहकारीले गत वर्ष ५६ करोड कुल कारोबार गर्दे १ करोड १७ लाख नाफा गर्न सफल भएको छ । यस्तै आगामी आर्थिक वर्षमा ६२ करोड कारोबार गर्ने र १ करोड ४० लाख नाफा गर्ने लक्ष्य राखेको महिला मिलन सहकारीकी अध्यक्ष विष्णुमाया लामाले बताईन् ।
‘२ दशक अघि विरुवा रोपेको सहकारी अहिले धेरै फैलिएको छ’ सहकारीको संस्थापक अध्यक्ष सुकुमाया थिङले भनिन् ‘अहिले महिला मिलनको सदस्य भनेर देश विदेशसमा समेत चिनिएकोले पुस्तौपुस्तासम्म सहकारी यसरी नै अघि बढ्नु पर्छ।’ महिला मिलनले अहिले ४० लाखसम्म शेयरसदस्यलाई ऋण लगानी गर्दै आएको छ । १५ दिनअघि देखि समूहतगत रुपमा गएर छलफल गरेको सहकारीले विहीबार कार्यालयमा कोभिडको कारण न्यून सदस्यहरुको उपस्थितिमा साधारणसभा गरेको हो । सहकारीले आफ्नो सदस्यहरुलाई जुम मार्फत जोडेको थियो ।

सहकारीले आफ्नो २१ औं वार्षिक साधारणसभामा कर्मचारी दिपेश अधिकारी र पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार निशा गुरुङलाई सम्मान गरेको छ । यस्तै शेयर सदस्यहरु तिर्थ कुमारी नेपाल, शान्ति माया हिडडुङ र हिरामाया वाइबालाई सम्मान गरेको छ ।
कार्यक्रममा हेटौंडा–१२ का वडाअध्यक्ष ललित घलान, हेटौंडा–१३ को वडाअध्यक्ष मनोक वाइबा लगायतको उपस्थिति रहेको थियो ।

