मकवानपुर । ग्रामीण महिला सेवा केन्द्र मकवानपुरको २० औं वार्षिक साधारणसभा हेटौंडामा भएको छ । साधारणसभा केन्द्रका अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुरमहतको प्रमुख आतिथ्यतामा विहीबार सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै मेयर महतले यस संस्थासँग सहकार्य गरेर विकट क्षेत्रमा काम गर्न तयार रहेको बताए ।
कार्यक्रममा अध्यक्ष कार्कीले ग्रामिण महिला सेवा केन्द्र मकवानपुरले हालसम्म २३ हजार महिलाहरुलाई सेवा प्रदान गरेको बताईन् । जिल्लामा ४१ वटा महिला सहकारीका २ हजार ३ सय महिला समुहमा आबद्ध रहेका २३ हजार महिलाहरुसँग प्रत्यक्ष रुपमा काम गरी महिलाहरुको सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक सशक्तिकरणको क्षेत्रमा भूमिका निर्वाह गरेको उनले जानकारी दिइन् ।
संस्थाले तत्कालिन ३८ वटा गाविसहरुमा महिला सहकारीको माध्यमबाट महिला, बालबालिका, दलित, जनजाति, तथा पछाडी पारिएका जानजातिहरुको सामाजिक, आर्थिक, राजनैतिक तथा वातावरणीय सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको अध्यक्ष कार्कीले जानकारी दिइन् । हाल केन्द्रले जिल्लाका बागमती, मनहरी र मकवानपुरगढी गरी ३ वटा गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिकामा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा ‘नेतृत्व र निर्णय’ कार्यक्रम गरिरहेको छ ।
कार्यक्रममा सचिव अचला शर्माले संस्थाको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सुलोचना स्याङतानले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै साधारण सभामा लेखा सुपरिवेक्षणको प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिकको अधिकार प्रत्यायोजन, आवश्यक नीति नियम संशोधन लगायतका प्रस्तावहरु पेश गरिएको थियो ।
३६ जना सदस्यहरु रहेको ग्रामिण महिला सेवा केन्द्रमा कार्यक्रम संयोजक देखि कार्यालय सहयोगीसम्म गरेर ११ जना कर्मचारी रहेको संस्थाले जनाएको छ । संस्थाले गत आ.व. २०७७/०७८ मा सदस्यता शुल्क, घरभाडा, अनुदानलगायतका शिर्षकहरुबाट कुल १ करोड २१ लख ५१ हजार ५ सय ८५ रुपैयाँ आम्दानी गरेको कोषाध्यक्ष स्याङतानले जानकारी दिईन् । जसमा विभिन्न कार्यक्रमका शिर्षकमा १ करोड २३ लाख ६३ हजार ६ सय ५४ रुपैयाँ ७० पैसा खर्च भएको कार्यक्रममा जानकारी गराइएकाे थियाे ।
कार्यक्रममा भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष तथा संस्थाको सल्लाहकार सदस्य पार्वती राना, संस्थापक सदस्य सरिता सापकोटा, सल्लाहकार सदस्य शर्मिला श्रेष्ठ, लेखा समिति संयोजक जुना दंगाल लगायतकाको आतिथ्यता रहेको थियो ।

