मकवानपुर । ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ७५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख २ हजार ३ सय २२ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २७ जनालाई २ हजार ७ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ हजार २ सय ६६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ७२ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ८ हजार २ सय ३२ जनालाई सचेत गराइएको छ ।

