मकवानपुर । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले आफ्नो उपशाखा अन्तर्गत रहेका आजिवन सदस्यहरुलाई आवश्यक परेकाे बेला रगत उपलब्ध गराउने भएको छ ।
हेटौंडा उपशाखाको शनिबार बसेको बैठकले उपशाखाका आजिवन सदस्यहरूलाई रगतको आवश्यकता परेको बेलामा रक्तसञ्चार केन्द्र मार्फत निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेकाे हाे । रगतको आवश्यकता परेको बेला बिरामीलाई रगत उपलब्ध गराउने र बिरामीलाइ उपलब्ध गराएको रगतको मूल्य बराबरको रकम हेटौंडा उपशाखाले रक्तसञ्चार केन्द्रलाई उपलब्ध गराउने नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिवहरि दाहालले जानकारी दिए ।
सभापति दाहालका अनुसार नेपालमै पहिलो पल्ट नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको उपशाखाले आफ्नो आजिवन सदस्यहरुलाई निशुल्क रगत उपलब्ध गराउन लागिएकाे हाे । यस कार्यक्रमले बिरामी भएको बेला आजिवन सदस्यहरुलाई सहयोग पुग्ने दाहालले बताए । अहिले रक्तसञ्चार केन्द्रले प्रती युनिट रगतको ८ सय ५० रुपैया लिदै आएको छ ।

