समकवानपुर/ स्वास्थ्य मापदण्ड अनुसार खोप लगाउने उमेर समूह तोकिएका १८ वर्षभन्दा माथिका बागमती प्रदेशवासी ५९ प्रतिशत नागरिकले खोप लगाउन पाएका छैनन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयमा अनुसार कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाउन बाँकी रहेकाहरुको संख्या ५९ प्रतिशत रहेको छ । प्रदेशमा खोप लगाउने उमेर समूका ३४ लाख २३ हजार ७ सय ५२ जान (५९ प्रतिशत) ले खोप लगाउन पाएका छैनन् ।
प्रदेशमा पूर्ण खोप लगाउनेहरु ३१ प्रतिशत मात्रै पुगेका छन् । यस प्रदेशमा १८ वर्ष भन्दा माथीका ३१ प्रतिशत नागरिकलाई पूर्ण खोप दिइएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभीढ–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले बताए । पूर्ण मात्रामा खोप लगाउने १८ लाख ५ हजार ३ सय नौ जना रहेका छन् । उनीहरुले पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् । पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा खोप लगाउन बाँकी नागरिक भने ५ लाख ९९ हजार ३ सय ९ जना रहेको डाक्टर सेढाईले बताए ।
खोप लगाउनको लागि अनलाइन फारम अनिवार्य भएपछि ग्रामिण भेगका सर्वसाधरणहरुलाई खोपमा पहुँच पु-याउन असहज भएको छ । “ग्रामिण क्षेत्रमा अनलाइन फारम भरेर खोप लगाउन जानुपर्ने भएकोले सबैले यो नजान्दा पनि समस्या भएको छ” मकवानपुरगढी गाउँपालिका–५ की स्थानीय सिताकुमारी घिमिरेले भनिन् “आफूले फारम भर्न नजान्दा अरुलाई गुहार्नु परेपछि सोचको समयमा खोप लगाउन पाइएको छैन ।”
शहरीक्षेत्रमा विभिन्न सामाजिक संस्था तथा संञ्जालहरुले खोपको लागि अनलाइन फारम भर्नमा सहयोग गर्दै आएका छन्, वडा कार्यलयहरुमा पनि यस्तो सहयोगको व्यवस्था गरिएको छ, तर ग्रामिण क्षेत्रमा यो सुविधा छैन ।

