मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशन आगामी भदौ २० गते गर्ने भएकाे छ । बुधबार पार्टी कार्यालयमा बसेको कांग्रेस मकवानपुरको बैठकले वडा अधिवेशन भदौ २० गते गर्ने निर्णय गरेको हो ।
कांग्रेसले देशैभर वडा तहको अधिवेशन भदौ १८ गतेदेखि २३ गतेभित्रमा गर्न यस अघी नै निर्देशन दिइ सकेकाे छ । मकवानपुरमा भने पार्टीको सहमति जुटाएर भदौ २० गते वडा अधिवेशन गरिने भएको प्रवक्ता प्रदिप कोइरालाले बताए ।
मकवानपुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले वडा अधिवेशन भदौ २० गते गर्ने निर्णय गरेको हाे । बैठकमा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना, उपसभापति विष्णुप्रसाद लामिछानेलगायतका नेताहरु उपस्थित थिए ।
यसैबीच नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस वडा अधिवेशनसंगै स्थानीय तहको संगठन विस्तारको अभियानमा जुटेको बताएका छन् ।
बुधबार हेटौंडामा नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको सभाध्यक्षतामा भएकाे पत्रकार सम्मेलन गर्दै नेता बानियाँले भदौ २० गते मकवानपुरको १०२ वटै वडाको अधिवेशन हुने र सोही क्रममा वडास्तरबाटै संगठन विस्तारको अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।
उनले वडा तहमा चयन भएको नेतृत्वले नै जिल्ला, क्षेत्र र प्रदेश समिति चयन गर्ने भएकोले वडा तहमा राम्रा व्यक्तिलाई चयन गर्ने विषयमा पार्टीका पदाधिकारीहरुलाई गम्भीर हुन निर्देशन दिए ।

