मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) ले हेटौंडा उपमहानगरपालिकालाई हेटाैडा बजार क्षेत्र भएर बनेकाे राजमार्गकाे २५ मिटरको विषयमा भ्रम सिर्जना नगर्न आग्रह गरेको छ । बुधबार मउवासंघले पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिकाले २५ मिटरको विषयमा आफ्नो धारण सार्वजनिक गरेर हेटौंडाबासीमा भ्रम सिर्जना गरेको बताएकाे छ ।
पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष एवं हेटौंडा बसोबास संरक्षण मुल समितिका संयोजक समेत रहेका कृष्ण कटुवालले सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा रहेको २५ मिटरको विषयमा हेटौंडा उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरेर जनस्तरमा भ्रम सिजर्ना गरेको बताए ।
उनले कोभिड-१९ को चपेटामा परेको समयमा उपमहानगरपालिले २५ मिटर भत्काउने धारणा सार्वजनिक भएसंगै बजार क्षेत्रका घरधनी तथा व्यवसायीहरुमा त्रास पैदा भएको बताए । उनले भनेः हामी सर्वोच्चको आदेश मान्छौ,२५ मिटर भत्काउने विषयमा सर्वोच्चमा विचारधिन मुद्दामा रहेको अवस्थामा उपमहानगरपालिकाले व्यवसायीहरुमा भ्रम सिर्जना गर्यो ।
हामीहरुले आजको दिनमा समेत उपमहानगरमा सम्पत्ति कर बुझाईरहेका छौ,अध्यक्ष कटुवालले भनेः सरकारले उचित मुअब्जा दिएको अवस्थामा घरहरु भत्काउन दिन्छौ । सर्वोच्चले फैसला गर्नु पर्यो ।
अध्यक्ष कटुवालले हेटौंडा उपमहानगरपालिकामा २५ मिटर भित्र पर्ने १ हजार ७ सय ७४ घरधुरीलाई घर भत्कने डरले बैंकले ऋण नदिने गरेको,घरजग्गा किनबेच हुने नगरेको,उक्त क्षेत्रमा भएको व्यवसायहरु धरापमा परेको समेत बताए ।
कटुवालले सर्वोच्च अदालतमा रहेको मुद्दाले भत्काउन आदेश दियो भने हामी आफैं भत्काउनेछौं, उचित मुआब्जा दिए २५/३० जति आवश्यक छ सोही अनुरुप भत्काउन दिइने बताए । सडक डिभिजनले सुचना जारी गरे पश्चात घरभत्काउन थालेपछि २५० भन्दा बढी नागरिकले सर्वोच्चमा मुद्दा हालेको मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठले बताए । सम्मेलनमा संघका पूर्व अध्यक्ष केशव श्रेष्ठ, उत्तमशर्मा ढकाल, घरधनी ज्योतीरत्न बज्रचार्य, केदार न्यौपाने, विजेन्द्र अग्रवाल लगायतको उपस्थिती रहेको थियो । मुख्य बजारभित्र सडक विस्तार गर्दा सडकको दायाँबायाँ गरी १७ सय ७४ घरधुरी पर्ने जनाइएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडाको रातोमाटेदेखि चौकीटोलसम्म र बुद्धचोकदेखि राप्तीपुलसम्मको बाटो (एसियन हाइवे) सम्बन्धमा राष्ट्रिय राजमार्गको करिव ८ कि.मि.को सडक सहरी मार्ग बनाउन धेरै पटक नेपाल सरकारका सरोकारवाला निकायमा पहल गर्दै आईरहेको छ ।
बि.स. २०६८ सालमा सडक डिभिजन कार्यालय हेटौंडा, मउबासंघ, हेटौंडा नगरपालिका, जिविस मकवानपुर र माधवराज सुमार्गी ट्रष्टसमेतको करिब २ करोड संयुक्त लगानीमा चौकीटोलदेखि रातोमाटेसम्म प्रारम्भिक बाटोसमेत निर्माण भईसकेको छ ।



