मकवानपुर । मकवानपुर प्रहरीले ३५ क्युफिट अबैध काठ सहित २ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले मकवानपुरको भीमफेदीबाट अबैध काठ सहित सुमन लामा र सुवाष गोलेलाई पक्राउ गरेको हो ।
प्रहरीले भिमफेदी गाउँपालिका वडा नंम्बर– २ स्थित सडक खण्डमा हेटौडाबाट भैसे जाँदै गरेको बा ९ च ५९१२ नंम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई ल्याएको अबैध गोलिया काठ ५ थान, ३५ क्युफिट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए ।
काठसहित प्रहरीले सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर–२ बस्ने बर्ष २८ को लामा र सोही गाउँका बर्ष २९ को गोलेलाई काठ र गाडी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि डिभिजन वन कार्यालय राप्ती, मनहरीमा पठाइएको रिमालले जानकारी दिए ।

