मकवानपुर । हेटाैडा १६ मा रहेकाे शिवम् सिमेन्ट उद्योगले तिर्नु पर्ने विद्युत महशुल भुक्तानी बक्यौता रहेकाे भन्दै ध्यानाकर्षण गरिएकाे छ । विद्युत महशुल भुक्तानी बक्यौता रकम असुल गर्न सचेत नागरिक युवा समूहले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गरेकाे हाे ।
२ अर्ब ३४ करोड रुपैयाँ भन्दा बढी बक्यौता भुक्तानी नगरेको शिवम् सिमेन्ट उद्योगसँग बक्यौता रकम असुली गर्न माग गर्दै मंगलबार सचेत नागरिक युवा समूहले नेपाल विद्युत प्राधिकरणको बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाका प्रमुख शशिभूषण साहलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
बक्यौता रकम भुक्तानी नगरे शिवम् सिमेन्ट उद्योगको विद्युत कटौती गर्न पनि सचेत नागरिकले माग गरेको छ । सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठ नेतृत्वको एक समूहले बक्यौता रकम भुक्तानी नगर्दा सर्वसाधारण नागरिकको विद्युत कटौती प्राधिकरणले २ अर्ब ३४ करोड रुपैयाँ भुक्तानी नगर्ने शिवम्लाई भने किन विद्युत निरन्तर दिइरहेको भन्दै प्रश्न गरेका थिए ।
प्राधिकरणलाई ध्यानाकर्षण गरेको सचेत नागरिक युवा समूहले प्राधिकरणले बक्यौता असुलीमा ढिलाई गरे संघीय मन्त्रीलाई नै ध्यानाकर्षण गराउने जनाएको छ । सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले राज्यको लगानी रहेको संस्थाले राज्यकै सम्पत्तिको रुपमा बक्यौता असुलीमा ध्यान दिनुपर्ने भन्दै नेपाल विद्युत प्राधिकरणका डिभिजन प्रमुख शशिभूषण साहको ध्यानाकर्षण गराए ।
बक्याैता भुक्तानी असुली गर्ने काम प्राधिकरणको हेटौंडा वितरण केन्द्रकाे भएकाेले मंगलबारै शिवम् सिमेन्ट उद्योगलाई बक्यौता रकम भुक्तानीका लागि वितरण केन्द्रले पत्राचार गरिसकेको पनि डिभिजन प्रमुख साहले जानकारी दिए । शिवम् सिमेन्ट उद्योगसँगै बक्याैता भुक्तानी असुली गर्नु पर्ने १३ अर्ब रुपैयाँ भन्दा बढी बक्यौता हेटौंडा वितरण केन्द्रबाट असुली गर्नु पर्ने भएकाेले उक्त विषय केन्द्रमै छलफल भइरहेकाले रकम असुलीमा ढिलाई भएको बताइएकाे छ ।
यस्तै सचेत नागरिक युवा समूहले प्राधिकरणले मिटर रिडिङ गर्ने मितिमै रिडिङको कार्य गर्न नसकेको, मिटर रिडिङ भए पनि कम्प्युटरमा समयमै अपडेट नहुँदा ग्राहकले समयमै भुक्तानी गर्दा पाउने छुट सुविधा उपयोग गर्न नपाएको विषयमा पनि प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

