हल्का पानी परिरहेको एक विहानी । वनस्पतिको फरक फरक वास्नादार वातावरण थियो । मर्निङ वाकको क्रममा पारिवारिक कुराकानी हुँदै थियो । एक जना अग्रजले आफू लामो समयदेखिको तनावबाट मुक्ति पाएकोमा औधि खुसी लागेको प्रसङ्ग काट्याउँदै भन्नुभयो ‘अब म दौंतरीको सम्धी हुने छैन ।’ सामान्यतः पुरुष साथीहरुले एकापसमा ‘सन्धी’ भनेर ख्यालठट्टा गर्ने गरेको मैले पटक पटक देखेको सुनेको थिएँ । साथी–साथीमा ‘सम्धी’ शब्दले सम्बोधन गरेको देख्दा मलाई चाँही कता कता नमिठो लाथ्यो । किनकी यसमा उनीहरु एकापसमा ख्यालठट्टा गरेर रमाइ रहेको होलान् । तर त्यो शब्दको सम्बन्ध सिधै तिनीहरुको अबोध छोराछोरीप्रति लक्ष्यित हुने शब्द हो । भलौ उनीहरु एकापसमा भविष्यमा ‘सम्धी–सम्धी’ होलान् वा नहोलान् भविष्यले बताउँला तर आजै देखी बोलिने यस्ता सम्बन्धका शब्दहरुले कतै त कतै केही न केही छाप छाड्दछ भन्ने लाग्दछ मलाई ।
नेपाली तथा हिन्दी चलचित्रहरुमा पनि बाल्यवस्थाका साथीहरु भविष्यमा एकापसमा सन्धी बन्ने रहर गरेको, एकापसलाई बचन दिएको तर सन्तानले नमान्दा पारिवारिक सम्बन्धमा विचलन आएको घटनाक्रम देखाइने गरेको छ । व्यक्तिगत रुपमा भन्नुपर्दा मलाई यो पनि पटक्कै सही लाग्दैन ।
अं म मर्निङ्ग वाकको कुरा जोड्दै थिए । दौंतरीको ‘सम्धी’ बन्नु पर्ने छैन भनेर औधि खुसी हुनुभएका ति अग्रजको रहस्य बुझ्न खोजे । उनले आफू ४५ वर्ष नाघेपछी छोराको बाबु बनेकोमा खुसी भएको सुनाए । मलाइ झन् कौतुहलता जाग्यो । ३० वर्षको उमेर छोरीको बाबु भएका थिए उनी । अब छोरी १५ वर्ष भएपछी किन फेरी अर्को सन्तानको रहर गरे होलान् ?
उनी व्यवसायीक घरानाका व्यक्ति । सामाजिक रुपमा समेत पहिचान बनाएका व्यक्ति । व्यक्तिगत रुपमा भन्नुपर्दा उनलाई छोरा र छोरीमा कुनै भेदभाव छैन । श्रीमान् श्रीमाति दुबै आ–आफ्नो क्षेत्रमा चिनिएका छन् । उनीहरुको बुझाइ थियो सन्तान, सन्तान नै हो चाहे छोरा होस् वा छोरी । छोरीको लागि अभिभावकत्वमा मरिमेटेर लागेको देख्दथें मैले पनि । तर उनीहरुको मनमा गडेर पीडाबोध गरिरहने शब्द रहेछः ‘सन्धी’ । जुन शब्दसँग उनी आफ्नो अबोध बालापनमा खेलिरहेकी छोरीलाई हेरेर मन मनै दुखिरहन्थे उनीहरू ।
व्यवसायीक जमघटमा आफ्नै दौंतरीहरुले ‘तेरो एक्ली छोरी मेरो छोरालाई बिहे गर्ने हो, अनि यत्रो व्यवसायको एक्लो मालिक मेरो छोरो’ भनेर ठट्यौलि पारामा भन्ने गर्दा रहेछन् । स्कुले दौंतरी भएकोले नामै किटेर तँतँ–मम गरिने साथीहरुले ‘ओ सम्धी के छ तेरो खबर ?’ भन्दा म आफ्नो छोरीमाथि अन्याय भएको आभाष गर्दथे’ उनले भने।
छोरी तोते बोल्दै ताते गर्दै गर्दा साथीभाइहरुसँगके जमघटमा छोरीलाई डो-याउँदै पुग्ने यो दम्पत्तिलाई साथीहरुले प्रयोग गर्ने ‘सम्धी’ शब्दले बिस्तारै पीडा भर्दैै गएको रहेछ । ‘ख्याल ठट्टा हो भनेर वास्तै नगर्ने गरेको तर साथीहरुले जिक्याउन छाडेनन्, जतिपछी भयो उत्तिनै बढी बढी पीडादायी लाग्न थाल्यो ‘सम्धी’ शब्द ।’ मर्निक वाकको ओरालो झर्दै गर्दा उनले भने, अति भएपछि अघिल्लो वर्षबाट छोराको चाह जाग्न थाल्यो अन्तरमनबाट, भगवानले पनि चाहाना पुरा गरिदिए’ उनले एकै श्वासमा यति भने ।
मलाइ अर्को एउटा घटनाको याद भयो, एक महिनाअघि रिपोटि·को शिलशिलामा मकवानपुरको बकैया गाउँपालिका जादै थिएँ । साथमा थिए केही पत्रकार र खेलप्रेमीहरु । एक जना दिदीको आमा धेरै बिरामी हुनुहुन्थो । आमाको स्वास्थ्यमा सुधार भए नभएको प्रसङ्गमा सोध्दा दिदीले भन्नुभयो, ‘छोरीको घरमा प्राण जाला भनेर दाजुभाइले लगे, पछिल्लो अबस्था थाहा छैन ।’ दिदीले विगत १८ वर्षदेखि ओछ्यानमा परेकी दीर्घरोगी आमाको स्वास्थ्योपचारमा महङ्गो खर्चसँगै सयौं हण्डर खेप्दै आएको हामीले देखेका थियौ । आफूले नसक्दा सहयोगी कर्मचारी राखेरै पनि आमाको स्वास्थ्यको लागि केही कमी हुन दिएकी थिइनन् उनले । दाजुभाइ नै छैनन् सायद भन्ने लाग्थ्यो हामीलाई उनले आमालाई गरेको सेवा देखेर ।
‘यतिञ्जेल दाजुभाईले एक कल फोन गरेर कस्तो छ भनेर सोधेनन्, अहिले आमाको स्वास्थ्यमा सुधार नहुने भन्दै अस्पतालले घर फर्काएपछी दाजुभाइले छोरीको घरमा प्राण जानु हुन्न भनेर लगे’ ति दिदीले दबिएको श्वरमा भनिन् ‘आमा दाजुभाइको मात्रै हुन् की मेरी पनि ?, मैले अब आमा देख्ने त्यति नै होला अब ।’ छोरी भएकै कारण छोरीकोमा आमा बुबाको प्राण पर्न नहुने यो संस्कार कि कुसंस्कार ?
छोरीको साहारामा बाँचेकी आमालाई जीवनको अन्तिम घडीमा आएर छोराहरुले लैजानुको पछाडी आमाको नाममा रहेको जायजेथा नै थियो ।
लैङ्गिक समानता सवालमा कलम चलाउने कलमजिवीहरुकै हालत यस्तो छ, परम्परा र संस्कार कै पछाडि लाग्नेहरुको अवस्था के होला । आमा बुबाको मृत्यु संस्कारमा छोरीहरु सहभागी भएको समाचार बेलबखतमा सुन्ने गरिन्छ, त्यसको लागि ठुलै साहस र संघर्ष गर्नु पर्दछ छोरीहरुले । जब कि छोराहरुको लागि भने त्यो कर्तव्यको विषय बन्दछ, छोराको कर्तव्य हो भने, अधिकार हो भने छोरीको कसरी हैन ? उही सकस सहेर, उही संघर्ष, अभाव र सपनाहरु झल्दै र सम्हाल्दै हुर्काइन्छन् आमा बुबाबाट छोरा छोरी तर समाजिक जिम्मेवारीमा किन भेद ? कतै आमा बुबाले नै छोरा र छोरीमा भेद राख्दछन् भने केही उदार दील भएका आमा बुबाहरुले छोरी र छोरामा फरक छैन भनेर सत्य स्वीकार्दा समाजले किन अवरोध सिर्जना गर्दछ ?
अंश र बंशको सवालमा कानुनी पाटो
अघिल्लो प्रसङ्गका व्यवसायी छोरीलाई अंश सहित बंश दिन तयार थिए । उनको लागि छोरा रहरको विषय थिएन । समाज (साथीभाइ) ले छोराको लागि अघोषित दबाब दियो । जुन दबाब सहन नसकेर उनीहरुले डेढ दशकपछि छोराको चाह राखे । अर्को प्रसङ्गमा दुई दशकदेखि छोरीको साहारामा बाँचेकी आमालाई जीवनको अन्तिम घडीमा आएर छोराहरुले लैजानुको पछाडी आमाको नाममा रहेको जायजेथा नै थियो । सामाजको बिल्ला भिरेर उनीहरुले बिरामी आमालाई हैन आमाको नाममा रहेको अंशमाथि आँखा लोभ काडेका थिए ।
कुरा जोडौं कानुनी पाटो बारे । मुलुकी देवानी संहिता ऐनले छोरीलाई पनि अंशबण्डामा समान हकदार बनाएको छ । संहिताको परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ मा सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि पति, पत्नी, बाबु, आमा, छोरा, छोरी सबै अंशियार मानिने उल्लेख छ । साथै दफा २०६ ले सबै अंशियारको हक समान रहने छ भनेर स्पष्ट उल्लेख गरेको छ । तर व्यवहारमा यो सहज भएको छैन ।
२०६३ सालको अन्तरिम संविधानमै पैतृक सम्पत्तिबाट छोरीले पनि अंश पाउने व्यवस्था गरेको थियो। तर त्यसको कार्यान्वयनमा अन्य कानुनहरु उदार बन्न नसक्दा छोरीहरुले अंश पाउन सकेका थिएनन् । बंशको त कुरै रहेन । छोरीको शिक्षामा लगानी गर्नेहरु बढेका छन्, छोरीको विहेमा दाइजो दिन जति नै सम्पत्ति खर्च गर्न तयार हुनेहरु पनि बढेका छन् । तर समाजले छोरीलाई अंश दिने विषय अझै पनि सहज स्वीकारेको अवस्था छैन । ०६३ को अन्तरिम संविधानले छोरीले पनि अंश पाउने उल्लेख गरेको भए पनि त्यस बमोजिमको हक दावी गर्दै अंश लिने छोरीहरु देखिएनन् ।
अझैपनि छोरीलाई छोरा सरह अंश दिने बाबु आमा सहजै भेटिदैनन् । छोरीले अंशको लागि कानुनी लगाइ नै लड्नु पर्ने हुन्छ । हुन् त परिवर्तन एक्कासी संभव छैन ।
छोरा र छोरीलाई कुनै विभेद नगरी पैतृक सम्पत्तिमा बराबर अंश दिनुपर्ने व्यवस्था संहिताले ग-यो, तर परिवार र समाजको नियमले देशको कानुनलाई वास्तै गरेन ।
२०२० सालमा बनेको मुलुकी ऐनले पनि ३५ वर्षको उमेरसम्म बिहे नगरेका छोरीलाई छोरा सरह अंश दिने व्यवस्था गरेको थियो । त्यसलाई २०५९ सालमा संशोधन गरेर छोरा र छोरीलाई अंश दिने व्यवस्था गरेपनि विवाहितले अंश नपाउने व्यवस्था ग-यो, जुन एक हातले दिएजस्तो गर्ने र अर्को हातले खोस्ने गरी गरिएको व्यवस्था देखियो । हालको मुलुकी देवानी संहिताले पुराना कानुनमा भएका बाधाहरुलाई सल्टाएको छ । संहिताले अंशमा छोरीहरुको पनि समान हैसियत कायम गरिदिएको छ । छोरा र छोरीलाई कुनै विभेद नगरी पैतृक सम्पत्तिमा बराबर अंश दिनुपर्ने व्यवस्था संहिताले ग-यो, तर परिवार र समाजको नियममा देशको कानुनलाई वास्तै गरेन ।
अहिले ऐनमा छोरालाई मात्रै अधिकार दिने व्यवस्था गरेका ठाउँमा छोरी शब्द पनि थपेको छ । साथै अविवाहिता छोरी भन्ने शब्द हटाएर सगोलकी छोरी (अंशियार) भन्ने शब्द राखेको छ । यस्ता संघर्षको लामै कथाहरु छन् । २०४७ सालपछि छोरीलाई पनि समान अंश दिनुपर्छ भनेर आवाज उठ्दै आयो तर आजसम्म सहज कार्यान्वय भएको छैन । ऐनले छोरीलाई दोहोरो अंशको हकदार बनाएको छ, बिहे गरेको छोरीलाई पनि अंश दिने भनेसँगै जन्म घर अर्थात माइती पक्षबाट अंश पाउने निश्चित छ नै सँगै सोही ऐनमा श्रीमानको तर्फबाट पनि अंशियार रहने देखाएको छ । यसरी महिलालाई माइती पक्ष र श्रीमान पक्ष दुवैतर्फबाट अंश पाउने निश्चित गरिएको भएपनि यो पटक्कै व्यवहारीक छैन । कारण उही हो सामाजिक सोच, जति सहजै छोराहरुले अंश पाउँछन्, उसैगरी सहजै छोरी र बुहारीहरुले अंश पाउँदैनन्, यसको लागि कानुनी लडाँइ नै लड्नु पर्ने हुन्छ । कानुनी लडाँइ नै लडेर परिवारमा बेमेल खडा गरि अंक लिन प्रायः महिला तयार हुँदैनन् ।
सभ्य र परस्पर हितकारी समाज निर्माणको लागि सन्तानलाई सन्तानको रुपमा स्वीकार गर्नु पर्छ चाहे छोरा होस् वा छोरी या लैङ्गिक अल्पसंख्यक जे होस् सन्तान त सन्तान नै हो ।
कानुनी व्यवस्थाले मात्र छोरीको समान हक समाजमा स्थापित भइहाल्दैन । यसको लागि सामाजिक सोच र चिन्तनमा परिवर्तन अपरिहार्य छ । कानुनी व्यवस्थाले मात्र त्यो कानुन समाजमा लागू गर्न सक्दैन। त्यसका लागि अरू धेरै नीतिनियम र निर्देशन पनि बनाउनुपर्ने हुन्छ। पुरानो कानुन कार्यान्वयन गर्न बनेका नीतिनियम र निर्देशनले नयाँ कानुनी व्यवस्था लागू गर्न बाधा पु¥याइरहन्छन् । अंशबन्डाको सन्दर्भमा कुरा गर्दा पनि अझै पनि कानुन फितलो नै छ । अभिभावकले छोराहरुलाई अंशबण्डा गर्दा कुनै विवाहित वा अविवाहित छोरीको स्वीकृति चाहिने बाध्यकारी नियम अझै बनिसकेको छैन । यो पनि सहजै स्वीकार्य नभएकै अवस्था हो ।
यसरी हेर्दा समाजको प्रथा परम्परा तथा रितिरिवाजहरुले कानुनलाई सकेसम्म बेवास्ता गर्ने, मिचेर जाने प्रयास गरेको देखिन्छ, यसो हुनु भनेको परिवर्तनलाई आत्मासात नगरिनु नै हो । समय सापेक्ष रुपमा समाज चल्नको लागि परिवर्तन जरुरी छ । विकृति उन्मुलन जरुरी छ । सभ्य र परस्पर हितकारी समाज निर्माणको लागि सन्तानलाई सन्तानको रुपमा स्वीकार गर्नु पर्छ चाहे छोरा होस् वा छोरी या लैङ्गिक अल्पसंख्यक जे होस् सन्तान त सन्तान नै हो । समाजका हरेक व्यक्तिसँगको आपसी सम्बन्धमा प्रत्यक्ष वा परोक्ष रुपमा चोट नपु-याउन हरदम सचेत बनौं । यसैमा सामाजिक सद्भाव फैलन सक्दछ । सद्भावले भरिएको समाजले नै युगान्तकारी परिवर्तनलाई आत्मसात गर्न सक्दछ ।

